विश्व

रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोबीच आश्चर्यजनक युद्धविराम वार्ता

अङ्गोलामा शान्ति वार्ता असफल भएको केही घण्टापछि रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी)) का राष्ट्रपतिहरूले कतारमा आश्चर्यजनक वार्ता गरेपछि युद्धविरामका लागि आफ्नो समर्थन व्यक्त गर्नुभएको छ ।

रुवान्डाका राष्ट्रपति पल कागामे र डिआरसीका राष्ट्रपति फेलिक्स त्सेसेकेदीले मङ्गलबार कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गर्नुभएको थियो ।

रुवान्डा समर्थित एम२३ सशस्त्र समूहले यस वर्षको सुरुमा डिआरसीको खनिजले समृद्ध पूर्वी क्षेत्रमा आक्रमण गरी दुई प्रमुख सहर कब्जा गरेको थियो ।

“राज्य प्रमुखहरूले गत महिना अफ्रिकी शिखर सम्मेलनमा सहमति गरिएअनुसार तत्काल र बिना शर्त युद्धविरामका लागि सबै पक्षको प्रतिबद्धता दोहोर्‍याउनुभयो”, विज्ञप्तिमा भनिएको छ, “फलदायी बैठकले… प्रजातान्त्रिक गणतन्त्र कङ्गो र यस क्षेत्रको सुरक्षित र स्थिर भविष्यप्रति साझा प्रतिबद्धतामा विश्वास निर्माण गर्न मद्दत गर्‍यो ।”

मङ्गलबार राति रुवान्डाको राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यले बैठक भएको पुष्टि गर्दै नेताहरूले ‘पूर्वी डिआरसीमा द्वन्द्वका मूल कारणहरू’ सम्बोधन गर्न सबै पक्षसँग ‘प्रत्यक्ष राजनीतिक संवाद’ को तत्काल आवश्यकताबारे छलफल गरेको बताएको छ ।

“राष्ट्रपति कागामेले सबै पक्ष मिलेर काम गर्दा सबै कुरा छिटो अगाडि बढ्न सक्ने विश्वास व्यक्त गर्नुभयो”, विज्ञप्तिमा भनिएको छ ।

डिआरसीले पनि बैठकको पुष्टि गरेको छ । कङ्गोको राष्ट्रपति कार्यालय नजिकको स्रोतका अनुसार त्सिसेकेडी किन्शासा फर्कने विमानमा चढ्दासम्म यो बैठक ‘गोप्य’ राखिएको थियो ।

“डिआरसी र रुवान्डाबीच तत्काल र बिना शर्त युद्धविराम सहमति भएको छ”, राष्ट्रपति कार्यालयले पछि बैठकको पुष्टि गर्दै प्रवक्ता टिना सलामाले एक्समा पोस्ट गर्नुभएको छ ।

“जे सहमति भएको छ त्यसको कार्यान्वयन विवरणहरू आउने दिनहरूमा तयार गरिनेछ”, कङ्गोली राष्ट्रपति कार्यालयको सञ्चार एकाइले पछि भनेको छ ।

यसअघि मङ्गलबार अङ्गोलाले एम२३ समूहले अन्तिम समयमा फिर्ता लिएपछि शान्ति वार्ता रद्द भएको बताएको थियो ।

समूहले सोमबार विशेष गरी युरोपेली सङ्घ (इयु) ले लगाएको प्रतिबन्धलाई उल्लेख गर्दै ‘केही अन्तर्राष्ट्रिय संस्था’ लाई ‘जानाजानी शान्ति प्रयासहरूलाई तोडफोड’ गरेको आरोप लगाएको थियो ।

“लुआन्डामा छलफलको पूर्वसन्ध्यामा अपनाइएका प्रतिबन्धहरूसहित हाम्रा सदस्यहरूमाथि लगातार लगाइएको प्रतिबन्धहरूले प्रत्यक्ष संवादलाई गम्भीर रूपमा सम्झौता गर्दछ र कुनै पनि प्रगतिलाई रोक्छ”, समूहले भन्यो ।

समूहले किन्सासाको ‘युद्ध अभियान’ को पनि निन्दा गर्दै भनेको छ, “यी अवस्थाहरूमा वार्ता गर्न असम्भव भएको छ । परिणामस्वरूप हाम्रो सङ्गठन छलफलमा भाग लिन सक्षम हुनेछैन ।”

इयुले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा सशस्त्र लडाकुहरू र यसका प्रमुख बट्र्रान्ड बिसिम्वासहित एम२३ का वरिष्ठ सदस्यहरूलाई समर्थन गरेकोमा तीन रुवान्डाली सैन्य कमान्डर र यसको खनन एजेन्सी प्रमुखलाई प्रतिबन्ध लगाएको छ ।

जनवरीदेखि कङ्गोली तुत्सीहरूको हितको रक्षा गर्ने दाबी गर्ने एम२३ ले गोमा र बुकाभुका प्रमुख सहरहरू अग्रिम गतिमा कब्जा गर्दा सात हजारभन्दा बढी मानिस मारिएका छन् ।

एएफपीले स्वतन्त्र रूपमा तथ्याङ्क प्रमाणित गर्न सकेको छैन ।

संयुक्त राष्ट्रसङ्घका विज्ञहरूको एक प्रतिवेदनले किगालीले एम२३लाई प्रभावकारी रूपमा नियन्त्रण गरेको र यस क्षेत्रको सुन र कोल्टनजस्ता बहुमूल्य खनिजहरूको दोहन गर्न करिब चार हजार सैनिक तैनाथ गरेको बताएको छ ।

रुवान्डाले एम२३ लाई सैन्य सहायता प्रदान गरेको कुरा अस्वीकार गरेको छ तर सन् १९९४ मा तुत्सीहरूको रुवान्डाली नरसंहारमा संलग्न जातीय हुतु नेताहरूले स्थापना गरेको एफडिएलआर समूहबाट डिआरसीको पूर्वमा खतरा रहेको बताएको छ ।

कङ्गो सरकार र एम२३ले अन्तिम पटक सन् २०१३ मा वार्ता गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *