
काठमाडौं । चीनको केरुङतर्फ लैजान खोजिएको स्रोत नखुलेको करोडौं रुपैयाँ बराबरको विदेशी मुद्रा प्रहरीले बरामद गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखा हुँदै छहरे जाने क्रममा एक ट्रक नियन्त्रणमा लिई ३ लाख २० हजार ३८५ अमेरिकी डलर र १३ लाख ७५ हजार युरो बरामद गरेको हो। नेपाली विनिमय दरअनुसार यो रकम करिब २५ करोड २१ लाख ४४ हजार रुपैयाँ हुन सक्ने अनुमान गरिएको छ।
कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले रकमको विस्तृत गणना भइरहेको जानकारी दिए। ‘रकम गन्ने प्रक्रिया जारी छ, हाल अनुमानित रकम मात्र सार्वजनिक गरिएको हो’, उनले बताए।
फल्स बटम बनाइ रकम ओसार्दै गर्दा पक्राउ
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा छन्। प्रहरीका अनुसार उनले ट्रकमा फल्स बटम बनाएर रकम लुकाएर केरुङ लैजाँदै गरेका थिए।
पहिलेदेखि नै तस्करीमा संलग्न
अनुसन्धानका क्रममा लामा यसअघि पनि सुन तस्करी प्रकरणमा संलग्न रहेको खुलेको छ। उनी २०७८ मा ७ किलो सुनसहित कलंकीबाट पक्राउ परेका थिए, तर पछि छुटेका थिए।
अनुसन्धान जारी
प्रहरीले रकमको स्रोत, संलग्न अन्य व्यक्ति र किन केरुङतर्फ लैजान खोजिएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। यस घटनाबारे थप जानकारी दिन आज दिउँसो १:३० बजे पत्रकार सम्मेलन आयोजना गरिनेछ।