देश

आजदेखि ‘पोखरा-छेन्दु’ उडान हुँदै

गण्डकी। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुँदैछ। लामो समयको प्रयासपछि पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको हो। सिचुवान एयरलायन्सको जहाज १२६ यात्रु लिएर छेन्दु जाँदैछ।

यो उडान नियमित गर्ने प्रयास स्वरुप सिचुवान एयरलायन्सले छेन्दुबाट तीन वटा चाटर्ड उडान गर्ने सुनिश्चित गरिसकेको छ । हाललाई भाडादर ६२ हजार रुपैयाँ तय भएको छ, र नियमित उडानको भाडादर पछि तय गरिनेछ ।

पोखरा पर्यटन परिषद्को अगुवाइमा पोखरा महानगरपालिका, चिनियाँ राजदूतावास, सिचुवान एअरलाईन्स र चाइनिज एशोसिएशनको सहकार्यमा यो उडान सम्भव भएको हो। तीन महिनामा करिब १२५० चिनियाँ पर्यटक पोखरा आउने अपेक्षा गरिएको छ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यसहित पर्यटन व्यवसायी र सञ्चारकर्मी पहिलो उडानमा सहभागी हुँदै छन्। उनीहरुले छेन्दु, लुझेउ, इमि, लिसन, छोङछिङमा पर्यटन विकासबारे जानकारी लिनेछन्। साथै, छेन्दु र छाउछिङमा नेपाल इभिङ र सेल्स मिसन पनि गरिनेछ।

यो उडान पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन र समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हुने विश्वास लिइएको छ। पोखरामा चिनियाँ पर्यटकलाई लक्षित गरी आवश्यक पूर्वाधार तयार भइसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *