देश

सोलुखुम्बुमा हावाहुरीको वितण्डा, २ महिनामा २६ घटना, जलवायु परिवर्तनको गम्भीर असर

सोलुखुम्बु। सोलुखुम्बुमा अस्वाभाविक रूपमा चलेको हावाहुरीले वितण्डा मच्चाएको छ। स्थानीयवासीहरूले यसअघि कहिल्यै यस्तो हावा नदेखेको बताएका छन्। हावाका कारण सगरमाथा क्षेत्रको थामेदेखि सदरमुकाम सल्लेरीसम्म घर, विद्यालय र अन्य संरचनामा ठूलो क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत माघदेखि चैत ३ गतेसम्ममा हावाहुरीका कारण २६ वटा घटना भएका छन्। २० वटा निजी घर, तीन वटा विद्यालय, दुई वटा धार्मिक संरचना र एउटा सरकारी संरचनामा क्षति पुगेको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिकामा सबैभन्दा बढी १४ वटा संरचनामा क्षति पुगेको छ।

हावाहुरीका कारण रुखहरू जराबाटै ढलेका छन्, जसले विद्युत् सेवा अवरुद्ध बनाएको छ। हावाहुरीले बाहिर हिँडडुल गर्न र विद्यार्थीलाई विद्यालय जान जोखिम बनाएको छ। स्थानीय प्रशासनले सचेतनामूलक सूचना जारी गरेको छ।

जलवायु विज्ञहरूका अनुसार यो घटना जलवायु परिवर्तनको गम्भीर असर हो। वैश्विक तापमान वृद्धिले मौसम प्रणालीहरूमा अस्थिरता बढाएको छ, जसले अनियमित र तीव्र हावाहुरी निम्त्याउँछ। हिमाली क्षेत्रमा तापक्रमको तीव्र उतारचढावले हावाको चापमा परिवर्तन गराई तीव्र गतिको हावाहुरी सिर्जना गरिरहेको छ।

जलवायु परिवर्तनको असरले गर्दा हिमाली भेगको जमिन अत्यधिक तातिरहेको छ, जसले हावाको वेगमा परिवर्तन आएको हुन सक्ने विज्ञहरूको भनाइ छ। यसका लागि पूर्वसूचना प्रणाली जडान गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *