देश

एसइईको तयारी पूरा, पाँच लाख १४ हजार विद्यार्थी सहभागी हुने

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। परीक्षा यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुनेछ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले दिएको जानकारीअनुसार यस वर्ष पाँच लाख १४ हजार ७१ जना विद्यार्थी एसइईमा सहभागी हुनेछन्। गत वर्षको तुलनामा यस वर्ष विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ ले बढेको छ।

परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिनेछन्। ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने भएको छ।

यस पटकको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरिएको छ। काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीले परीक्षा दिने व्यवस्था गरिएको छ। कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले परीक्षा दिनेछन्।

एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ।

परीक्षा तालिकानुसार चैत ८ गते अनिवार्य नेपाली, १० गते अनिवार्य गणित, १२ गते अनिवार्य विज्ञान तथा प्रविधि, १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम र १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ।

यस वर्ष पनि लेटर ग्रेडिङ प्रणालीमै नतिजा सार्वजनिक गरिनेछ। परीक्षा नियन्त्रण कार्यालयले उत्तीर्ण दर ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ। गत वर्षको एसइईमा ४८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *