देश

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सभाको बहुमतले स्वीकृत गरेको हो। विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस विधेयकले आर्थिक र व्यावसायिक वातावरण सुधार गर्नेमा सरकार विश्वस्त रहेको बताए। “यो विधेयकले निःसन्देह आर्थिक र व्यावसायिक वातावरण सुधार गर्छ। लगानी अभिवृद्धिका लागि आधार प्रदान गर्छ भन्ने सरकारको दृढ विश्वास छ,” उनले भने।

यसअघि विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूले ठूला व्यावसायिक घरानालाई कर छुट दिने व्यवस्था गरेको, स्वदेशी पुँजीलाई उपेक्षा गरेको तथा सीमित व्यक्तिका लागि लक्षित गरेर विधेयक ल्याइएको टिप्पणी गरेका थिए। तर, कांग्रेस सांसद डा. प्रकाशशरण महतले लगानीलाई उदार गर्नुपर्ने र निजी क्षेत्र नै विकासको इन्जिन भएको धारणा राखे।

प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *