कर्णाली प्रदेश

चन्दननाथको पहल: प्लाष्टिक र सिसाजन्य फोहर प्रशोधन सुरु, राजस्व सङ्कलनमा चुनौती

जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिकाले प्लाष्टिक र सिसाजन्य फोहर प्रशोधन सुरु गरेको छ। नगरभित्र सङ्कलित फोहरजन्य वस्तुलाई पुनः प्रयोगमा ल्याउन प्रशोधन सुरु गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले सिसा र प्लाष्टिकजन्य फोहरको वास्तविक अवस्था अध्ययन गर्न गत पुस १४ देखि १८ गतेसम्म सर्वेक्षण सञ्चालन गरेको थियो। प्रारम्भिक प्रतिवेदनका आधारमा नगरका होटल, कार्यालय, स्वास्थ्य संस्था, व्यावसायिकस्थल, धार्मिकस्थल, विद्यालय र घरपरिवार गरी १६० स्थानबाट फोहर सङ्कलन गरिएको थियो।

नगरपालिकाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग प्लाष्टिक र सिसाजन्य वस्तु पुनःप्रयोग गर्नका लागि उपकरण खरिद गरेको छ। अपरेटर तालिमपछि दुई जना अपरेटरले नियमित रूपमा उपकरण सञ्चालनमा ल्याएका छन्।

नगरवासीलाई फोहर वर्गीकरण गरी व्यवस्थापन गर्न आग्रह गर्दै घरभित्रका फोहरलाई बाहिर निकाल्न र नगरपालिकाले त्यसलाई उपयोग गर्ने योजना बनाएको छ। प्लाष्टिकजन्य फोहरलाई कम्प्याक्ट बिम बनाएर थोरै ठाउँमा राख्न सकिन्छ भने फर्निचर तथा अन्य पुनः प्रयोग योग्य सामग्री बनाउन सकिन्छ। प्लाष्टिकजन्य फोहरबाट हुने वातावरणीय प्रदूषणका विषयमा नगरवासीलाई सचेत बनाउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ।

उपकरण सञ्चालनमा केही चुनौती पनि देखिएका छन्। उपकरण सञ्चालन तथा मर्मत खर्चिलो छ। मर्मतका आवश्यक सामग्री जिल्ला बाहिरबाट ल्याउनुपर्ने अवस्था छ।

फोहरमैला व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले नगरपालिकाले फोहर व्यवस्थापनमा ठूलो लगानी गरे पनि राजस्व सङ्कलनमा चुनौती रहेको बताए। नगरपालिकाले लगानी र सेवा प्रभावकारी बनाइरहे पनि उठ्नुपर्ने राजस्व सङ्कलन गर्न कठिनाइ भइरहेको छ। प्लाष्टिक र सिसाजन्य फोहरको सङ्कलन र व्यवस्थापनलाई व्यवस्थित गर्न कार्यविधि आवश्यक देखिएको उनको भनाइ छ।

फोहर व्यवस्थापनमा चन्दननाथ नगरपालिकाले चालु आर्थिक वर्षको फागुन २७ गतेसम्म दुई लाख ५१ हजार ६०० राजस्व सङ्कलन गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *