बाँके ।बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार झडप राति ११ बजे सुरु भएको थियो।
बाँके प्रहरीका प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार, घटनाको खबर पाएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। घाइतेहरूलाई राति डेढ बजेतिर उद्दार गरी नेपालगञ्जको नर्सिङ होम अस्पताल पठाइएको छ।
सुधार गृहभित्र प्रहरी प्रवेश गर्न प्रयासरत रहे पनि अनुमति नपाएको जनाइएको छ। प्रारम्भिक जानकारीअनुसार कम्तीमा दुई जना बालबन्दी फरार भएको आशंका छ।
जयेन्दु बाल सुधार गृहमा हाल अढाई सय बालबन्दी रहेका छन्। यसअघि पनि यहाँ पटक–पटक झडप हुँदै आएको छ। केही दिनअघि मात्रै तीन जना प्रहरी कुटपिटमा परेका थिए।
यसअघि झडपमा संलग्न केहीलाई नौबस्ता सुधार गृहमा स्थानान्तरण गरिएको थियो। तर, त्यहाँ पनि झडप भइरहेकाले सुरक्षामा चुनौती देखिएको छ। केही समयअघि नौबस्ताबाट भागेका बालबन्दी अझै फेला परेका छैनन्।
सुरक्षाकर्मीले बल प्रयोग नगर्ने नीति लिएको भए पनि सुधार गृहको अवस्था नियन्त्रणभन्दा बाहिर जाने खतरा देखिएको छ। घटनाले सुधार गृहको व्यवस्थापन र सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीले सुरक्षा सुदृढ गर्न थप उपाय अपनाउने जनाएको छ।




