काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीहरूको ‘उग्र’ प्रदर्शनले यात्रुहरू ‘सास्ती’मा परेका छन्। हजारौंको संख्यामा राजावादीहरू विमानस्थलमा भेला भएपछि, कोटेश्वर, तीनकुने, विमानस्थल, गौशाला, चाबहिल क्षेत्रको ट्राफिक व्यवस्थापन ‘अस्तव्यस्त’ बनेको छ।
यात्रुहरू ‘बेहाल’ भएका छन् भने, सुरक्षा व्यवस्थाका लागि हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ। पूर्वराजा शाहले पोखराबाट काठमाडौं आउँदै गर्दा, राजतन्त्रका समर्थकहरूले स्वागतका लागि विमानस्थलमा भेला भएका हुन्।
गणतान्त्रिक व्यवस्थालाई लिएर प्रजातन्त्र दिवसको अवसरमा ज्ञानेन्द्र शाहले दिएको सन्देशपछि पूर्वराजावादीहरू ‘उत्साहित’ भएका छन्। त्यसपछि राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईंलगायतका राजावादी संगठनहरूले पूर्वराजालाई काठमाडौंमा स्वागत गर्ने तयारी गरेका हुन्।
सुरक्षा स्रोतका अनुसार पूर्वराजा शाह अपरान्ह साढे ३ बजे पोखराबाट काठमाडौंका लागि उड्ने तयारी छ। काठमाडौंमा भने दिउँसो १ बजेदेखि नै विमानस्थलबाहिर राजतन्त्रका समर्थक भेला भएका छन्।




