सम-सामयिक

गौलिङेशोर माविको धुलोमुक्त प्राङ्गण: नगरप्रमुख गुरुङको व्यक्तिगत पहलमा इन्टरलक ब्लक सहयोग

बेलकाेटगढि। गौलिङेशोर महादेव माध्यमिक विद्यालयको वार्षिक उत्सव समारोहमा नगरप्रमुख जगत बहादुर गुरुङले दिएको प्रतिबद्धता अनुसार विद्यालयको प्राङ्गण धुलोमुक्त बनाउन व्यक्तिगत पहलमा १६,००० पिस इन्टरलक ब्लक सहयोग उपलब्ध गराएका छन्।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित नगरप्रमुख गुरुङले अभिभावक, शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधि र विद्यार्थीहरूमाझ विद्यालय प्राङ्गण धुलोमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही प्रतिबद्धता अनुसार उनले व्यक्तिगत पहलमा आवश्यक इन्टरलक ब्लक उपलब्ध गराएका हुन्।

यसअघि पनि नगरप्रमुख गुरुङले बेलकाेटगढि नगरपालिका वडा नं. ५ को कामरु देवी माध्यमिक विद्यालय, वडा नं. ४ को विकास आधारभूत विद्यालयलगायतमा पनि यस्तै सहयोग उपलब्ध गराइसकेका छन्। उनको यो कार्यले विद्यालयको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुगेको छ।

गौलिङेशोर माविको प्राङ्गणमा इन्टरलक ब्लक बिछ्याएपछि विद्यार्थीहरूलाई खेलकुद तथा अन्य गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ। नगरप्रमुखको यो पहलले अन्य जनप्रतिनिधिहरूलाई पनि यस्ता सामाजिक कार्यमा सक्रिय हुन प्रेरित गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *