मुख्य समाचार

राजावादीहरूलाई प्रतिवाद होइन, जनतामुखी कामले जवाफ दिनुपर्छ : शेखर कोइराला

झापा। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले राजा नै भन्ने गरेको बताएका छन्। अन्तर्राष्ट्रिय प्रचलन अनुसार पूर्वराजा शाहलाई आफूले राजा नै भन्ने गरेको उनले बताएका हुन्।

झापाको बिर्तामोडमा नेपाल प्रेस युनियनले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता कोइरालाले अन्तर्राष्ट्रिय प्रचलन अनुसार एक पटक पदमा पुगेको व्यक्तिलाई ‘पूर्व’ भन्ने नगरिएको बताए।

“हामी चाहिँ पूर्व भन्छौं। तर अमेरिकामा जानुभयो भने अघिल्ला राष्ट्रपतिहरूलाई पनि ‘मिस्टर प्रेसिडेन्ट’ नै भन्ने गरिएको छ,” उनले भने।

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर नेपाल आएका बेला पनि ‘मिस्टर प्रेसिडेन्ट’ भनिएको उनले बताए। आफूले पूर्वराजा शाहलाई ‘राजा’ भन्दा अन्य अर्थ नलगाइदिन उनले आग्रह गरे।

“नेपालमा अन्य अर्थ लगाइदिने चलन छ। तपाईंहरूले अन्यथा नसोचिदिन आग्रह गर्दछु,” कोइरालाले भने। उनले राजा फर्काउनु पर्छ भन्ने मत संसारको जुनसुकै देशमा हुने गरेको बताए। “राजाको शासन सकिएको सयौं वर्ष बितिसक्दा पनि ती देशहरूमा राजा ल्याउनुपर्छ भन्ने मत आज पनि छ,” उनले भने।

उनले फ्रान्सको एउटा चिया पसलको उदाहरण दिँदै त्यहाँ पनि राजा फर्काउनु पर्छ भन्ने मत अहिले पनि रहेको बताए। “त्यहाँ अहिले पनि राजा फर्काउनु पर्छ भन्ने मत सुनिन्छ, तर संभव भएको छैन,” कोइरालाले भने।

उनले राजाका गतिविधिको विरोध भन्दा जनतालाई कतिको खुशी बनाउन सकिएको छ त्यो महत्वपूर्ण भएको बताए। राजाको विरोध गर्दा लोकतन्त्रवादी नहुने उनको भनाइ थियो। “हामीले जनतालाई कतिको सेवासुविधा दिएर खुशी पारेका छौं, त्यो महत्वपूर्ण कुरा हो,” उनले भने।

राजा फर्काउने मुद्दा बोकेर हिँडिरहेका पार्टी वा समूहबारे कांग्रेस नेता कोइरालाले उनीहरूले कोशिश गरेका तर संभव नहुने उनको भनाइ थियो। जनताको असन्तुष्टिलाई सरकारले राम्रा काम गरेर सन्तुष्ट बनाउनुपर्ने उनले बताए। “राजावादीहरूको कुरालाई प्रतिवाद गरेर होइन जनतामुखी काम गरेर मन जित्नुपर्छ,” उनले भने।

पूर्वराजा तथा राजावादीहरूको गतिविधि नियन्त्रण गर्ने भन्ने विषय आफूले सुनेको तर उनीहरूका गतिविधिहरूलाई प्रतिवाद गरे त्यो मूर्खता हुने उनले बताए। “उनीहरूका गतिविधिलाई ‘इग्नोर’ गर्दै जनताका लागि राम्रा काम गर्नुपर्छ,” उनले भने।

गएको चुनावमा गठबन्धन बनाएकाले सबभन्दा बढी घाटा नेपाली कांग्रेसले व्यहोरिरहेको उनले बताए। २०८२ सालको चैत महिनाभित्र पार्टीको महाधिवेशन गर्नैपर्ने नेता कोइरालाको भनाइ थियो। २०८४ सालमा हुने आम निर्वाचनभन्दा पछि महाधिवेशन गर्ने कुरा स्वीकार्य नहुने उनले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *