देश

जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेस गर्छौं : दीपकबहादुर सिंह

काठमाडौँ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक अबको दुई हप्ताभित्रमा सदनमा पेस गर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘नेपालमा प्रभावकारी सुशासनका लागि एकीकृत नदी वेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशालामा बोल्दै सभापति सिंहले यस्तो बताएका हुन् ।

उनले विधेयकमा मोटामोटी सहमति भइसकेपनि केही कुरामा सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै अबको दुई हप्ताभित्र सदनमा पेस गर्ने बताए । उनले ऊर्जा विधेयकलाई समेत शेयरधनी नेपालीको हक र हित हुनेगरी ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले अहिलेका शासकहरूले पानीको महत्त्व नबुझेको कारण मानवनिर्मित तालतलैयाहरु सुक्दै गएको बताए । मानव निर्मित तालहरूको पानी सुख्खायाममा जहाँ पनि प्रयोग गर्दा सजिलो हुने भएपनि त्यसतर्फ सरकारले ध्यान नदिएको उनको भनाइ छ ।

उनले भने ‘जलस्रोत विधेयक र ऊर्जा विधेयक पूर्वाधार विकास समितिमा आएको छ । पहिला ऊर्जा विधेयक आयो त्यसपछि जलस्रोत विधेयक आयो । जलस्रोत विधेयकमा हामी दुईचार वटा कुराहरूमा हामी अड्किएका छौं । तर केही समयमा हामी आपसमा छलफल गरेर सबैको सल्लाह सुझावलाई लिएर छिटोभन्दा छिटो अगाडि बढाउन गइराखेका छौं । सदनमा पेस गर्न गइरहेका छौं । त्यो विधेयक हामीले यस्तो बनाउनुपर्छ जुन विधेयक राष्ट्रहित होस् । जुन विधेयक जनहित होस् । यस विधेयकले शेयर लिएका नेपाली जनताको हक र हितमा होस् भन्ने कारणले र सेक्टरमा भएका साथीहरू र विज्ञहरूसँग पनि गहिरो डिसकसन गरेपछि मात्र हामी अगाडि बढ्नको लागि तयार हुन्छौँ । अब जलस्रोत विधेयक सदनमा पेस गर्न दुई हप्ता पनि लाग्दैन । अहिलेका शासकहरूले पानीको महत्त्व बुझेका छैनन् । उपत्यकामा पनि मान्छेबाट निर्मित ताल तलैयाहरू सयौँ हजारौँको संख्यामा थियो । मान्छेले त्यो निर्मित गर्दाखेरि मान्छेले रोजगारी पाउँथ्यो । त्यो पानी ड्राइ सिजनको बेला जहाँ पनि प्रयोग गर्न सकिन्थ्यो । तर त्यो सबै विनाश भएर गयो ।’

सभापति सिंहले जंगल मासिँदै गएपनि पानीका स्रोतहरू समेत सुक्दै गएको कारण वन जङ्गलको संरक्षणमा सबैले जिम्मेवार हुन आवश्यक रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *