मुख्य समाचार

सबैको सहमतिमा संविधान संशोधन हुन्छ : महामन्त्री थापा

नेपालगन्ज। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधन गर्ने तयारी भइरहेको र यसमा सबैको सहमति आवश्यक पर्ने बताएका छन्।

नेपालगन्जमा शनिबार आयोजित ‘संविधान संशोधन : आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले संविधान निर्माणको क्रममा हतारमा केही निर्णय लिइएको र त्यसपछि देखा परेका जटिलतासँगै अब संशोधनको आवश्यकता महसुस गरिएको बताए।

संविधान संशोधनको मुख्य उद्देश्यमा काँग्रेस र एमालेको गठबन्धन भए पनि माओवादी केन्द्र र रास्वपालाई पनि सहमतिमा ल्याएर मात्र संशोधन प्रक्रिया अघि बढाइने थापाले स्पष्ट पारे। उनले संविधानमा कुनै पनि अधिकार कटौती नगर्ने सुनिश्चितता दिँदै, जटिलताहरू सुल्झाएर राजनीतिक स्थायित्व र देशको समग्र विकासको लागि संशोधन गरिने धारणा राख्नुभयो।

महामन्त्री थापाले निर्वाचन प्रणाली, संघीयता कार्यान्वयनमा रहेका समस्या र सुशासनका चुनौतीलाई ध्यानमा राखेर संविधान संशोधन प्रक्रिया अघि बढाउने कुरा उल्लेख गरे।

कार्यक्रममा संविधानविद् काशिराज दाहालले संविधानको दश वर्षको कार्यान्वयनमा केही सुधारको आवश्यकता भएको र मुल मर्म र सिद्धान्तमा असर नगरी त्यसमा संशोधन गर्नुपर्ने सुझाव दिए।

लुम्बिनी प्रदेशका संविधानसभा सदस्य, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, कानुन व्यवसायी र बुद्धिजीवीको उल्लेख्य सहभागिता रहेको सो अन्तरक्रियामा संविधान संशोधनसँग सम्बन्धित विभिन्न बुँदामा चर्चा गरियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *