काठमाडौं । हमासले थप ६ जना इजरायली बन्धक मुक्त गरेका छन् । शनिबार वेस्ट बैंक र गाजाबाट हमासले ६ जना बन्धकलाई रेडक्रसमार्फत इजरायलको जिम्मा लगाएको हो । तीमध्ये २ जना त दशकौंदेखि हमासको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार हमासले बन्धक मुक्त गरेपनि इजरायलले भने प्यालेस्टिनी कैदी रिहाइ गर्न आनाकानी गरिरहेको छ । जबकि, शनिबार नै इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदी रिहा गर्ने बताइएको थियो । तर, इजरायलले प्यालेस्टिनी कैदीहरूको रिहाइ अनिश्चितकालसम्म स्थगित गरेको समाचारमा जनाएको छन् ।
इजरायलको यो कदमलाई युद्धविराम प्रक्रियामा ठुलो धक्काको रूपमा हेरिएको छ । इजरायल र हमासबिच गाजामा भएको युद्धविरामअन्तर्गत हमासले शनिबार ६ जना बन्धकलाई रिहा गरेपनि इजरायलले भने कैदी रिहाइ गर्न आनकानी गरेको हो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले थप इजरायली बन्धकहरूलाई हस्तान्तरण गर्ने ग्यारेन्टी नगरेसम्म प्यालेस्टिनी कैदीहरूको रिहाइ ढिलाइ हुने बताएका छन् । उनको यो सर्तले अन्यौलता उत्पन्न भएको समाचारमा उल्लेख छ ।
युद्धविरामको पहिलो चरणमा इजरायली बन्धकहरूको रिहाइको एक चरण अझै बाँकी छ । तर, नेतान्याहूले हमासले युद्धविरामका नियमहरू बारम्बार उल्लंघन गरेको आरोप लगाएका छन् । इजरायल र हमासबिचको सम्झौता तीन चरणमा कार्यान्वयन हुनेछ ।
पहिलो चरणमा, इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा हमासद्वारा बन्धक बनाइएकाहरूलाई रिहा गरिनेछ । त्यसपछि इजरायली सेना बिस्तारै गाजाबाट फिर्ता हुनेछ भने अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम गरिने सम्झौतामा उल्लेख छ ।




