काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले आज चार जना इजरायली बन्धकको शव र शनिबार ६ जना बन्धक इजरायललाई हस्तान्तरण गर्ने घोषणा गरेको छ।
हमासका गाजा प्रमुख र प्रमुख वार्ताकार खलिल अल हय्याले यस बारेमा जानकारी दिएका छन्। हस्तान्तरण गरिने चार शवमध्ये तीन जना एकै परिवार, अर्थात ‘बिबास फ्यामिली’का सदस्य रहेको बताइएको छ। ती तीन जनामा शिरी बिबास र उनका दुई छोरा, केफिर बिबास र एरिएल बिबासको शव रहेको जानकारी प्राप्त भएको छ।
२०२३ अक्टोबर ७ मा हमासले आक्रमण गर्दा केफिरको उमेर मात्र ९ महिना र एरियलको ४ वर्ष थियो। यी दुई बालकलाई हमासले अपहरण गरेका सबैभन्दा कम उमेरका बन्धकहरू मानिन्छ। हमासले इजरायली सेनाले गरेको बमबारीमा ती तीन जना २०२३ नोभेम्बरमा मारिएको आरोप लगाउँदै आएको छ।
तीन बालकका पिता र शिरीका श्रीमान यार्डेन बिबासलाई पनि हमासले बन्धक बनाएको थियो। यार्डेनलाई यसै महिनाको सुरूमा मुक्त गरिएको थियो। यार्डेनलाई परिवारसँग नभई बेग्लै स्थानबाट नियन्त्रणमा लिएको थियो।
यस्तै, हमासले शनिबार पूर्व निर्धारितभन्दा दोब्बर अर्थात ६ जना बन्धक रिहा गर्ने घोषणा गरेको छ। ६ जना बन्धकमध्ये दुई जना २०१४ र २०१५ मा गाजाभित्र प्रवेश गरेका इजरायली नागरिकहरू हुन्। अन्य चार जना २०२३ को अक्टोबर आक्रमणका क्रममा बन्धक बनाइएका इजरायली नागरिकहरू छन्।
इजरायल सरकारले शनिबार रिहा हुने भनिएका बन्धकहरूको नाम पुष्टि गरेको छ।
इजरायलले चलायमान घर ‘मोबाइल होम’ र निर्माण उपकरण गाजाभित्र प्रवेश गर्न दिने सहमति जनाएपछि, हमासले निर्धारितभन्दा दोब्बर जीवित बन्धक रिहा गर्ने र चार मृत बन्धकको शव हस्तान्तरण गर्ने सहमति जनाएको बताइएको छ।
जनवरी १९ देखि गाजा युद्धविरामको सुरूवातसँगै, हमासले ६ पटकमा १९ इजरायली र ५ थाई नागरिक गरी कुल २४ जना बन्धकलाई रिहा गरिसकेको छ। प्रत्युत्तरमा, इजरायलले ११ सय ३५ जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ।




