विश्व

युक्रेन शान्ति सम्झौताका लागि अमेरिकाले सुरक्षा ग्यारेन्टी गर्नुपर्छ : बेलायत

बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युक्रेन शान्ति सम्झौताका लागि अमेरिकाले सुरक्षा ग्यारेन्टी गर्नुपर्ने बताएका छन् ।

रुसले फेरि आक्रमण नगरोस् भन्ने निधो गर्न अमेरिकी सुरक्षा ग्यारेन्टी आवश्यक रहेको स्टार्मरको भनाइ छ । पेरिसमा युरोपेली नेताहरूसँगको बैठकपछि स्टार्मरले अमेरिकी सुरक्षा ग्यारेन्टी नै रुसलाई प्रभावकारी रूपमा निरुत्साहित गर्ने एक मात्र तरिका भएको बताएका हुन् ।

दिगो शान्ति सम्झौता भएमा युक्रेनमा बेलायती सेना तैनाथ गर्नेबारे विचार गर्न सक्ने उनको भनाइ छ । आगामी साता वासिङ्टनमा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसँग हुने भेटमा शान्ति सम्झौताका मुख्य विषयमा छलफल गर्ने प्रतिबद्धता समेत स्टार्मरले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रुस र युक्रेनबीच तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि आज साउदी अरबमा वार्ता हुँदैछ । दुई राष्ट्रबीचको युुद्ध समाप्त गर्न सउदीको पहलमा हुन लागेको वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुवियो र रुसी विदेशमन्त्री सर्गेई लाभारोभ साउदी अरब पुगेका छन् ।

वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्वका लागि विशेषदूत स्टिभ विट्कोफ पनि सहभागी हुने भएका छन् । रुसी वार्ता टोलीमा भने विदेश मन्त्री लाभारोभसँगै राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उसाकोव लगायत रहनेछन् । यद्दपी वार्तामा युक्रेन र युरोपेली युनिएनका प्रतिनिधिलाई निम्ता दिइएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *