विश्व

ट्रम्पसँग वार्ता हुनुअघि पुटिनको अडान : कब्जामा लिएका भूभाग रुसकै हुनुपर्छ

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँगको वार्ताअघि आफ्नो स्पष्ट अडान दोहोर्‍याएका छन्। उनले युक्रेनबाट कब्जा गरिएको भूभाग रुसकै हुनुपर्ने अडान दोहोर्‍याएका हुन्।

अमेरिका र रुसबीच साउदी अरेबियामा उच्चस्तरीय वार्ता हुने तयारी छ। यस वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेन युद्ध समाधानका लागि प्रस्ताव ल्याउने बताइएको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार, विदेशमन्त्री सेर्गेई लाभरोभ र राष्ट्रपति पुटिनका शीर्ष विदेश नीति सल्लाहकार युरी उशाकोभ वार्ताका लागि साउदी अरेबिया जाँदै छन्। यस वार्तामा ट्रम्प प्रशासनका अधिकारीहरू पनि सहभागी हुनेछन्। यो छलफलले आगामी पुटिन-ट्रम्प बैठकको आधार तय गर्नेछ।

गत हप्ता पुटिन र ट्रम्पबीच ९० मिनेट लामो फोन वार्ता भएको थियो, जसमा युक्रेन युद्ध अन्त्य गर्ने उपायबारे कुराकानी भएको बताइएको छ। ट्रम्पले युद्ध चाँडै अन्त्य गर्ने चाहना व्यक्त गरेका छन्। उनका सहयोगीहरूले अप्रिलभित्रै युद्धविराम गराउने योजना बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

तर, मस्कोले अस्थायी युद्धविरामलाई पर्याप्त नठानी स्थायी समाधान खोज्नुपर्ने अडान राख्दै आएको छ। रुसले युक्रेनलाई स्थायी रूपमा तटस्थ रहनुपर्ने, सैन्य गतिविधि सीमित गर्नुपर्ने र हालको भू-राजनीतिक अवस्था स्वीकार्नुपर्ने सर्त अघि सारेको छ।

पुटिन प्रशासनले कब्जा गरिएका क्षेत्रहरू रुसकै अंग हुनुपर्ने कुरामा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *