विश्व

रुस-युक्रेनबीचको कुनै पनि शान्ति वार्तामा युरोप र किएभ हिस्सा हुन्छ : अमेरिकी विदेश मन्त्रालय

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस–युक्रेन युद्ध अन्त्य गर्ने कुनै पनि वार्तामा युरोप र किएभ हिस्सा हुने बताउनुभएको छ । शान्ति वार्तामा वार्तामा युरोप र युक्रेनलाई बाहिर राखिने विषय उजागर भइरहँदा अमेरिकी विदेश मन्त्रीले यस्तो बताउनुभएको हो ।

सीबीएससँगको एक अन्तर्वार्तामा रुबियोले युद्ध अन्त्यको वार्ता अझै गम्भीरतापूर्वक सुरु नभएको जीकिर गर्दै वार्ता अघि बढेको खण्डमा युक्रेन र अन्य युरोपेली मुलुकलाई पनि समावेश गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले यसै साता साउदी अरबमा हुने भनिएको वार्तामा युद्ध अन्त्यका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन कति गम्भीर छन् भनेर हेर्ने मौकासमेत भएको बताउनुभयो । यस्तै, विदेशमन्त्री रुबियोले एक बैठक मात्र युद्ध अन्त्यका लागि पर्याप्त नुहुने पनि स्पष्ट पार्नुभएको छ ।

वार्ताको औपचारिक प्रक्रिया सुरु गर्नका लागि युक्रेन, रुस र अन्य सम्बन्धित पक्षहरूसँग छलफल गरिने उहाँको भनाइ छ । हालै अमेरिकी राष्ट्रपति राष्ट्रपति डनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गर्नुभएको थियो । जसमा दुवै पक्षले युद्ध अन्त्य गर्ने इच्छा व्यक्त गरेको ट्रम्पले बताउनुभएको थियो ।

ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्टिभ विटकफले रुसी अधिकारीहरूसँग वार्ता गर्नुअघि साउदी अरबको भ्रमण गर्नुहुने भएको छ । इजरायल–हमास युद्धविराम वार्तामा पनि विटकफले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

यसैबीच, युक्रेनलाई वार्ताको लागि आमन्त्रित नगरिएको युक्रेनी सरकारी स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । युक्रेनले वार्तामा सहभागी हुन आफ्ना प्रतिनिधि नपठाउने समेत स्रोतले बताएको बीबीसीले उल्लेख गरेको छ । रुस युक्रेन युद्ध झण्डै तीन वर्षदेखि जारी छ । जसमा दुवै पक्षका थुप्रै नागरिकसहित सेनाले ज्यान गुमाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *