
ताइपेइ । ताइवानले उसको टापु नजिकै २४ चिनियाँ सैन्य विमान पत्ता लगाएको जनाएको छ।
ताइवानको रक्षा मन्त्रालयका अनुसार ती २४ चिनियाँ सैन्य लडाकु विमान ताइवान स्ट्रेटको संवेदनशील क्षेत्रमा देखिएका हुन्। सोही क्षेत्रमा क्यानाडाको युद्धपोत पनि रहेको बताइएको छ।
रक्षा मन्त्रालयले जनाएअनुसार ती चिनियाँ विमानहरूमा लडाकु जेट र ड्रोनहरू समावेश थिए। आइतवार ताइवान वरपर चिनियाँ सैन्य जहाजहरूसँग संयुक्त युद्ध अभ्यासको तयारीस्वरूप गस्ती भइरहेको देखिएको मन्त्रालयको दाबी छ।
“चिनियाँ सेनाले ताइवान स्ट्रेट पार गर्दै गरेको क्यानाडाली फ्रिगेटलाई रेडियोमार्फत चेतावनी दिँदै मार्ग परिवर्तन गर्न भनेको थियो,” ताइवानका सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन्।
ह्यालिफ्याक्स-क्लास फ्रिगेट (एचएमसीएस) ओटावा यस वर्ष जलमार्ग ट्रान्जिट गर्ने पहिलो क्यानाडाली नौसैनिक जहाज हो।
ताइवानको विदेश मन्त्रालयका अनुसार अमेरिकाका दुई जहाज—एक नौसेनाको विनाशक जहाज र अर्को सर्वेक्षण जहाज—सो क्षेत्र पार गरेपछि चिनियाँ सैन्य विमान नजिक आएको हो।
अमेरिका र उसका सहयोगीहरूले १८० किलोमिटर लामो ताइवान स्ट्रेट पार गर्दै अन्तर्राष्ट्रिय जलमार्गको रूपमा आफ्नो स्थिति सुदृढ पार्न खोजिरहेका छन्, जसका कारण चीन असन्तुष्ट देखिएको छ।
ताइवान रक्षा मन्त्रालयका तथ्यांकअनुसार, बुधबार बिहान ६ बजेबाट ४८ घण्टाभित्र ६२ चिनियाँ सैन्य विमान ताइवान टापु नजिकै देखिएको छ।
यसैबीच, अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिगेरु इसिबाले ताइवान स्ट्रेटमा जबरजस्ती वा बल प्रयोग गरेर स्थिति परिवर्तन गर्ने कुनै पनि प्रयासको विरोध गरेको बताएका छन्।