देश

ठमेलमा प्रहरीमाथि कुटपिट : अखिल नेता जोशीलाई अभद्र व्यवहारको कसुरमा ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा बिहीबार काठमाडौँको बानेश्वरबाट पक्राउ परेका नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला प्रशासनले प्रहरीलाई अनुमति दिएको छ ।

ठमेलमा प्रहरी कुटेको आरोपमा पक्राउ परेका उनलाई म्याद थपका लागि बिहीबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरिएको थियो । जोशीलाई सो अभद्र व्यवहारको कसुरमा सात हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।

२४ माघ २४ गते राती जोशीको समुहले ठमेलमा ड्युटी खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टलाई सार्वजनिक स्थानमा नै कुटपिट गरेका थिए । सो भिडियो सामाजिक संजालमा बाहिर आएपछि प्रहरीले उनलाई अनुसन्धान गरी नियन्त्रणमा लिएको थियो ।

दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि सो समुहले आक्रमण गरेको प्रहरीले जनाएको छ । मध्यराति होहल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरुलाई अनैतिक क्रियाकलापमा नलाग्न सुझाव दिएको थियो । त्यसपछि सो समुहले मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो खोसेको थियो ।

आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई हिर्काइएको थियो । प्रहरीलाई कुटपिट गरेपछि यसअघि गत आइतबार मात्रै ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए । अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत दुवै जना नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् ।

प्रहरी कुटपिटमा संलग्न रहेर पक्राउ पुर्जी जारी भएका नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही अझै प्रहरीको नियन्त्रणमा पर्न सकेका छैनन् । ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशीलाई ‘उन्मुक्ति’ दिइएको छ । ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गर्ने समूहका पाँच जनाविरुद्ध पक्राउ पूर्जी जारी हुँदा अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई किन ‘उन्मुक्ति’ दिइयो भन्ने प्रश्न उठेको छ ।

काठमाडौं ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *