
जनकपुर । मधेस प्रदेशमा २१ वटा निजी अस्पताल अनधिकृत रूपमा सञ्चालनमा रहेको पाइएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा भएको अनुगमनमा जनकपुरधामका यी अस्पतालहरू अनुमति प्राप्त नगरेका र नवीकरण नगराएका पाइएको हो।
मुख्यमन्त्री सिंहले अस्पताल बन्द गरेर बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ। केही अस्पताल संचालकले आफैँ बन्द गरे पनि, केहीले निर्देशन अटेर गरेर सञ्चालन जारी राखेका छन्। एक अस्पताल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रदेश स्वास्थ्य ऐनअनुसार अनुमति बिना अस्पताल सञ्चालन गर्नु दण्डनीय अपराध हो र यस्ता अस्पताललाई एक लाख रुपैयाँ जरिवाना र बन्द गर्ने प्रावधान छ। अधिकांश अनधिकृत अस्पतालहरूले अनुमति लिएका छैनन्, र केहीले नवीकरणसमेत गरेका छैनन्।
यस घटनाबारे अनधिकृत अस्पताल सञ्चालकहरूले सरकारको अनुगमन विरुद्ध प्राइभेट अस्पताल एशोसिएशन गठन गरेका छन्।