देश

हेटौंडा उपमहानगर बालमैत्री पालिका घोषणा

मकवानपुर । आजबाट हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिएको छ । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उपमहानगरलाई बालमैत्री शासनयुक्त पालिका घोषणा गरेका थिए । उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको हो ।

बालमैत्री घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूरा भएसँगै उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको हो । उपमहानगरका अनुसार ४३ वटा सूचकको लक्ष्य शत प्रतिशत, ४ सूचक ९९ प्रतिशत, ३ वटा सूचक, ९० प्रतिशत र १ सूचकमा ८८ प्रतिशत नतिजा हासिल गरेसँगै बालमैत्री पालिका घोषणा भएको मेयर मीनाकुमारी लामाले जानकारी दिएकी छिन् ।

हेटौंडा उपमहानगरपालिकामा १८ वर्ष मुनिका २६ हजार १ सय ४५ बालक र २४ हजार ५० बालिका गरी ५० हजार एक सय ९५ बालबालिका रहेका छन् । उपमहानगरका सबै १९ वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा पछि समग्र उपमहानगरलाई बालमैत्री शासनयुक्त पालिका घोषणा गरिएको हो ।

मकवानपुरको १० पालिकामध्ये यसअघि मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *