
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले फागुन १ लाई ‘जनक्रान्ति दिवस’ का रुपमा मनाउन प्रस्ताव गरेका छन् । भट्टराईले शब्दको जुंगाको लडाइँ छोडेर फागुन १ गतेलाई राज्य र सबै दल, जनताकोतर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ को रुपमा मनाउन प्रस्ताव गरेका हुन्। ‘शब्दको जुंगाको लडाइँ छोडौं । फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ को रुपमा मनाऔं’, उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।
उनले १९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२–६२ सालको सशस्त्र जनयुद्ध, २०६२/६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलनलगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई पनि जोड्न प्रस्ताव गरेका छन् । नेकपा माओवादीले २०५२ फागुन १ गते सशस्त्र युद्ध सुरु गरेको थियो। यसैले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले २०७९ माघ २९ गते फागुन १ लाई जनयुद्ध दिवस भनी सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
तर सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय गैरसंवैधानिक, द्वन्द्वपीडितलाई थप पीडा दिने र राष्ट्रिय सहमति पनि नभएको ठहर गर्दै बदर गरिदियो । तर पनि माओवादीको नेतृत्व रहेका स्थानीय तहका सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा घोषणा गरिरहेका छन् । यसविरुद्ध पनि सर्वोच्चले अर्को आदेश जारी गर्दै जनयुद्ध दिवसका नाममा बिदा नदिन भनेको छ ।