
काठमाडौँ।गृह मन्त्रालयले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङस्थित ‘नो केबलकार’ आन्दोलनरत पक्षलाई पुनः वार्तामा आउन आह्वान गरेको छ। बुधवार वार्ता समिति संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा आउन अनुरोध गरेका हुन्।
सरकारले माग पूरा सम्बोधन नगरेको भन्दै माघ २९ गतेबाट मुक्कुमलुङ (पाथीभरा) संरक्षण संयुक्त सङ्घर्ष समितिले आन्दोलन सुरु गरेको थियो।त्यसको भोलिपल्ट बुधवार गृहमन्त्री रमेश लेखकले वार्ता टोलीका संयोजक तथा सदस्यहरूलाई छलफलमा बोलाएका थिए।त्यसलगत्तै समितिले संवादका माध्यमद्वारा समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
गत माघ २२ गते सङ्घर्ष समिति र वार्ता टोलीबीच ६ बुँदे सहमति भएको थियो। सहमतिपछि आन्दोलन रोकिएकोमा पुनः समितिले आन्दोलनको घोषणा गरेको थियो।गृह स्रोतका अनुसार वार्ता समिति पदाधिकारीले राजनीतिक नेतृत्वसँग वार्ता गर्ने सर्त राखेका छन्। तर, गृहमन्त्री लेखकले राजनीतिक नेतृत्वबाट वार्ता नहुने भन्दै समितिलाई नै विवाद टुंग्याउन निर्देशन दिएका छन्।