बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध पूर्वडीआईजी छविलाल जोशीले उच्च अदालत तुलसीपुर, बुटवलमा निवेदन दर्ता गराएका छन्।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले सोमबार जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो। जोशीका तर्फबाट उनका छोरा तथा अधिवक्ता रोचक जोशीले आदेश पूर्वाग्रही रहेको भन्दै बदरको मागसहित निवेदन दर्ता गराएका हुन्।
निवेदन र आदेशको विषय
उच्च अदालत तुलसीपुर बुटवल इजलास कार्यालयका सूचना अधिकारी रामबहादुर कुँवरले जोशीको तर्फबाट आदेश बदरको माग गर्दै ७३ नं. निवेदन दर्ता भएको जानकारी दिएका छन्।
पछिल्लो पृष्ठभूमि
जोशी यसअघि पोखराको सूर्य दर्शन सहकारीमा ८८ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख धरौटीमा रिहा भएका थिए। चितवनको सहारा सहकारी ठगीमा पनि उनीविरुद्ध मुद्दा दर्ता भइसकेको छ। सुप्रिम सहकारी प्रकरणमा जोशीले व्यक्तिगत रूपमा २ करोड ५० लाख र सामूहिक रूपमा १० करोड ९९ लाख ऋण लिएको देखिएको छ।
सुप्रिम सहकारी ठगी प्रकरणमा २२ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको छ। ५५ करोड रुपैयाँ बिगो कायम गरिएको मुद्दामा गत वैशाखमा गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाइएको थियो, जसमा १७ जनाविरुद्ध थप अभियोग दर्ता भएको छ।
यसअघि यो मुद्दामा रवि लामिछाने १ करोड धरौटीमा रिहा भएका थिए। सरकारी वकिलतर्फबाट प्रेमराज पौडेल र गोकर्ण घिमिरेले बहस गरेका थिए भने जोशीको तर्फबाट मनोजकुमार चौधरी र अपूर्व खतिवडाले बहस गरेका थिए।




