काठमाडौं । अमेरिकाको एक अदालतले राष्ट्रपति डनल्ड ट्रम्पको अनुमतिमा अर्बपति इलन मस्कले ट्रेजरी डिपार्टमेन्ट रेकर्डहरूमा पहुँच हासिल गर्ने प्रयासलाई रोक लगाएको छ ।
म्यानहटनका जिल्ला न्यायाधीश पल ए एङ्गेलमेयरको आदेशले इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी) लाई ट्रेजरी विभागको डाटासम्मको पहुँचमा प्रतिबन्ध लगाएको छ ।
राष्ट्रपति डनल्ड ट्रम्पको कार्यकारी आदेशले सरकारी दक्षता विभागलाई ट्रेजरी डिपार्टमेन्ट रेकर्डमा लाखौं अमेरिकीहरूको व्यक्तिगत वित्तीय डेटासम्मको पहुँच सहज बनाएको थियो ।
मस्कको नेतृत्वमा दक्षता विभागलाई रेकर्डमा पहुँच दिइएपछि १९ राज्यका महान्यायाधिवक्ताले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका थिए । अदालतको आदेशपछि ट्वीट गर्दै मस्कले गलत आदेश आएको प्रतिक्रिया दिएका छन् ।
अदालतको आदेशले राज्यहरूले तत्काल राहतबिना ‘अपूरणीय क्षतिको सामना गर्ने’ भनेको छ । निषेधाज्ञाले निजामती कर्मचारीहरू बाहेक अरू कसैलाई ती अभिलेखसम्मको पहुँचमा प्रतिबन्धित गरेको छ ।
न्युयोर्कका महान्यायाधिवक्ता लेटिया जेम्सले ट्रम्प प्रशासनले मस्कलाई व्यक्तिगत डाटामा ‘अभूतपूर्व पहुँच’ दिएको आरोप लगाएका छन् ।




