
काठमाडौं । दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले भारतीय जनता पार्टीलाई बधाई दिएका छन् । विधानसभा चुनावको मतगणना जारी रहँदा भाजपा बहुमततर्फ उन्मुख भएपछि केजरीवालले बधाई दिएका हुन् । केजरीवाल स्वयं पनि यसपालि पराजित भए । उनले जनताले दिएको म्याडेट सहर्ष स्वीकार गर्ने प्रतिक्रिया दिएका छन् ।
जनताले भाजपालाई जुन विश्वासका साथ बहुमत दिएको त्यसअनुसार काम गर्न केजरीवालले अनुरोध गरेका छन् । आम आदमी नेतृत्वमा १० वर्षको अवधिमा दिल्लीमा राम्रो काम भएको उनले बताए । चुनावी परिणामअनुसार पराजय निश्चित भएपछि उनले एक भिडिओ सन्देश जारी गरेका छन् । चुनाव हारेपछि पनि जनताको आदेशअनुसार जिम्मेवार प्रतिपक्षी मात्र नभई समाजसेवामार्फत जनताको सुख–दुःखमा निरन्तर जोडिने उनले बताएका छन् । केजरीवालले आम आदमी पार्टीका सबै नेता कार्यकर्ताहरूलाई पनि बधाई दिएका छन् ।