
नयाँदिल्ली । दिल्ली विधानसभामा भारतीय जनता पार्टी (बिजेपी) ले शानदार जित हात पारेको छ । बिजेपीले २७ वर्षपछि दिल्लीमा बहुमत सिट जितेको हो । शनिबार सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार बिजेपीले ७० मध्ये ४८ सिटमा जित हासिल गरेको हो ।
यसअघि निरन्तर दिल्ली सरकार चलाउँदै आएको आम आदमी पार्टी २२ सिटमै खुम्चिएको छ । आपको लज्जास्पद हारमा पार्टीका मुख्य नेता एवं पूर्व मुख्यमन्त्री अरविन्द केजरिवाल, मनिष सिसोडिया जस्ता नेताहरू पराजित भएका छन् । पछिलो विधानसभा निर्वाचनमा आपले दिल्लीमा ६२ सिट जित्दा बिजेपी ८ सिटमात्र जितेको थियो । यसपटक बिजेपीले आपका थप ४० सिट कब्जा गरेको हो । भारतको दोस्रो ठूलो पार्टी कांग्रेस भने दिल्ली विधानसभामा एकपटक फेरि जितिविहीन बनेको छ । उसले दिल्लीमा एक सिट पनि जित्न सकेन ।
दिल्ली निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका पूर्व मुख्यमन्त्री केजरिवाललाई बिजेपीका परवेश वर्माले पराजित गरेको हो । त्यो पनि ४ हजार बढी मतले उनले केजरिवाललाई हराएका हुन् । प्रवेशले ३० हजार ८८ मत ल्याउँदा केजरिवालले २५ हजार ९९९ मत मात्र ल्याए । केजरिवालले दिल्लीमा आफ्नो हार स्वीकार गरेका छन् । उनले सार्वजनिक अभिव्यक्ति सार्वजनिक गर्दै बिजेपीलाई जितका लागि बधाइ पनि दिएका छन् । ‘जनताको फैसलालाई मैले विनम्रताका साथ स्वीकार गरेको छु । जितको लागि बिजेपीलाई बधाइ । हामी जनताको सुख दुःखबाट टाढा रहँदैनौं,’ भिडियो वक्तव्य जारी गर्दै केजरिवालले भनेका छन् ।
उनले जनताले दिएको बहुमतलाई कदर गरी दिल्लीमा काम गर्न बिजेपीलाई आग्रह गरेको छ । उनले आफू सत्तामा रहँदा दिल्लीको शिक्षा, स्वास्थ्य, बिजुली र पानीको क्षेत्रमा काम गरेको बताए । उनले दिल्लीको इन्फास्ट्रक्चरमा पनि आफूहरूले राम्रो गरेको दाबी गरेका छन् । उनले आम जनता पार्टीले खरोरूपमा विपक्षीमा उभिएर जनताको सेवा गर्ने प्रतिवद्धता जनाए । दिल्लीका मुख्यमन्त्री आतिशीले पनि पनि हार स्वीकार गरेकी छन् । आफ्नो सिट सुरक्षित गरेका उनले आफ्नो पार्टीको हार स्वीकार गरेकी हुन् । उनले बिजेपीको गुन्डागर्दीविरुद्ध आफूहरूको अभियान जारी रहने उल्लेख गरेकी हुन् ।
केजरीवाललाई पराजित गरेपछि परवेश वर्माको चर्चा चुलिएको छ । हिन्दुस्तान टाइम्सका अनुसार परवेश वर्मा सन् २०१३ मा पहिलो पटक दिल्लीको विधानसभा चुनावमा निर्वाचित भएका थिए । त्यतिबेला मेर्हौली सिटमा दिल्ली विधानसभाका अध्यक्ष रहेका कंग्रेस उम्मेदवार योगनन्द शास्त्रीलाई पराजित गरेका थिए । विधानसभा छाडेर उनी २०१४ मा उनले लोकसभा चुनाव लडे र विजयी भए । चुनाव जितेपछि लोकसभामा उनले विभिन्न समितिमा सदस्य रहेर काम गरे ।
२०१९ को लोकसभा चुनावमा त उनले दिल्लीमा सबैभन्दा बढी मतान्तरले जित्ने उम्मेदवारको रेकर्ड नै बनाए । त्यतिबेला उनले कांग्रेसका महाबल मिश्रलाई ५ लाख ७८ हजार ४८६ मतले पराजित गरेका थिए । यसपालि उनी लोकसभा छाडेर विधानसभा झरेका हुन्। उनी प्रभावशाली राजनीतिक घराना पृष्टभूमिका हुन् । उनका बुवा साहिब सिंह वर्मा भाजपाका सिनियरमध्येका नेता हुन् भने दिल्लीका पूर्व मुख्यमन्त्री पनि हुन् ।