
काठमाडौं । कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय तोकिएको छ । जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो ।
जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई माघ २५ गते सजाय निर्धारण गरेको हो । दुई वर्ष ६ महिना कैद र एक लाख जरिवाना सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेष्तेदार सिताराम खड्काले जानकारी दिए । यस्तै, पीडितलाई एक लाख ५० हजार क्षतिपूर्ति दिने सजाय फैसला भएको उनको भनाइ छ ।
कृषिविज्ञ राईमाथि आफैले सञ्चालन गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित शुभद्रा मदन (शुभम) फाउण्डेसनका किशोरीलाई यौन दुव्र्यवहार गरेको अभियोग थियो । यौन दुरुपयोग कसुरमा अदालतले राईलाई गत माघ १० गते कसुर ठहर गरेको थियो ।
फाउण्डेसनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीय किशोरीले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीलाई दिएको उजुरीका आधारमा राई २०८० वैशाख २९ गते पक्राउ परेका थिए । मुद्दाको फैसला नभएसम्म फाउण्डेसनमा जान नपाउनेगरी उनी २०८० जेठ २२ गते पुर्पक्षका लागि चार लाख धरौटी तारेखमा रिहा भएका थिए ।
आरोपितविरुद्ध २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बाल यौन दुरुपयोग सम्बन्धी अभियोग पत्र दायर गरेका थिए । अभियोगपत्रमा राईलाई तीन वर्ष कैद र ७५ हजार जरिवाना माग गरिएको थियो ।