
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) गोमादेवी तिमिल्सिनाले पशुपति क्षेत्र विकास कोषमा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारीहरूको यथाशीघ्र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले पशुपति क्षेत्र विकास कोषका कर्मचारी निरन्तर आन्दोलनमा भएपनि सरकार गम्भीर नभएको बताएका हुन् । उनले अदालतले श्रमिकका पक्षमा फैसला गरेको भएपनि सरकारले चासो नलिएको बताए ।
उनले भने ‘लामो समयदेखि आन्दोलनमा रहेका पशुपति विकास कोषका श्रमिकहरूको बारेमा जानकारी छैन कि भनेर फेरि जानकारी गराउन खोजेको छु । ३७ जना महिला श्रमिकहरू दुई महिनादेखि आन्दोलनमा हुनुहुन्छ । उहाँहरू आन्दोलनमा लाग्न लागेको पनि दुई महिना बित्न लागेको छ । सरकारले त्यसबारेमा जानकारी नभएर हो कि चासो लिएको छैन । अध्यक्षज्यूमार्फत सरकारलाई यो अनुरोध गर्न चाहन्छु ।’
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले डडेलधुरको परशुराम नगरपालिकामा छोटिभन्सार कार्यालय स्थापना गर्न माग गरेका छन् ।
उनले परशुराम धाम नजिकै रहको छोटि भन्सार कार्यालय संघीयता आएसँगै खारेज भएको कारण स्थानीय प्रशासनबाट आम उपभोक्ता प्रताडित भएको बताए । उनले तत्काल छोटि भन्सार कार्यालय स्थापना गर्न माग गरे ।
उनले भने ‘डडेलधुराको परशुराम नगरपालिकाको वडा नं ५ परिगाउँ भन्ने ठाउँमा छोटि भन्सार कार्यालय थियो । त्यो बन्द भएपनि त्यहाँबाट दुई सय भन्दा बढी मान्छेको ओहोर दोहोर हुने भइराख्छ । भारतबाट दशृनको लागि मान्छेहरू पनि आउने गर्छन् । त्यहाँ छोटि भन्सार नहुँदा नागरिकलाई सानो सामान ल्याउँदा पनि स्थानीय प्रशासनले दुःख दिने काम गरेको छ । त्यहाँ तत्काल छोटि भन्सार कार्यालय स्थापना गर्न सरकारको ध्यानाकर्षण होस् भन्ने कुरा माग गर्न चाहन्छु ।’
उनले डडेलधुरामा परशुरामधाम समेत रहेको उल्लेख गर्दै स्थानीयको ओहोरदोहोर सजिलो बनाउन समेत माग गरे ।