विश्व

सिरियाली अन्तरिम राष्ट्रपति मङ्गलबार टर्कीए जाने

इस्तानबुल। सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले गत डिसेम्बरमा बशर अल असदलाई सत्ताच्युत गरेपछि दोस्रो अन्तर्राष्ट्रिय भ्रमणका लागि मङ्गलबार टर्कीको भ्रमण गर्ने टर्कीएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनले आइतबार साउदी अरबको भ्रमण गरी सिरियाको आफ्नो नेतृत्वलाई समर्थन र सहयोगका लागि कुटनीतिक पहल गरेका थिए । युद्धग्रस्त सिरियाले पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न र आफ्नो अर्थतन्त्रलाई पुनरुत्थान गर्न धनी खाडी मुलुकहरूलाई खोजिरहेको छ ।

“सिरियाली अन्तरिम राष्ट्रपति अल–शारा टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानको निमन्त्रणामा मङ्गलबार अङ्काराको भ्रमण गर्नुहुनेछ,” राष्ट्रपति कार्यालयका सञ्चार प्रमुख फहरेटिन अल्टुनले सोमबार एक्समाफैत् जानकारी दिए ।

शारासँग घनिष्ठ सम्बन्ध रहेको टर्कीएले सिरियामा आफ्नो कूटनीतिक नियोग पुनः खोलेको छ र आफ्ना गुप्तचर प्रमुख र विदेशमन्त्रीलाई नयाँ नेतासँग वार्ताका लागि पठाएको छ ।

टर्कीएको राजधानी अङ्कारास्थित राष्ट्रपति भवनमा एर्दोआन र अल–शाराबीच हुने भेटवार्ता सिरियामा आर्थिक पुनरुत्थान, दिगो स्थिरता र सुरक्षाका लागि चाल्नुपर्ने संयुक्त कदममा केन्द्रित हुने अल्तुनले बताए ।

“सिरियाले लामो समयदेखि सत्तामा रहेका बसर अल असदलाई सत्ताच्युत गरी ‘आफ्नो स्वतन्त्रता पुनः प्राप्त गरेपछि’ पुनः स्थापित भएको टर्कीए–सिरियासम्बन्ध थप मजबुत हुनेछ र यसले नयाँ आयाम प्राप्त गर्नेछ भन्ने हाम्रो विश्वास छ,” उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *