विश्व

बुसानको विमानस्थलमा रहेको विमानमा यसरी भयो आगलागी

काठमाडौं । दक्षिण कोरियाको बुसानको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार यात्रुवाहक विमानमा आगलागी भएको छ । आगलागीपछि यात्रु र चालक दलका सदस्यहरू विमान बाहिर निस्कन भागदौड मच्चिएको थियो ।

अग्नि नियन्त्रण अधिकारीहरूले सियोलबाट लगभग ३२० किलोमिटर दक्षिणपूर्वमा रहेको बुसानको विमानस्थलबाट चीनको हङकङका लागि उड्ने तयारीका रहेको एयर बुसानको विमान उडान भर्नुअघि पुच्छरमा आगो लागेको बताए । सवार सबै १६९ यात्रु र सात चालक दलका सदस्यहरूलाई सुरक्षित बाहिर निकालिएको थियो । तीन जना घाइते भएको बताइएको छ ।

योनहापले विमानको पुच्छरबाट आगो शुरु भएपछि जहाजको फ्युजलेजमा फैलिएको देखिएको बताएको छ । अग्नि नियन्त्रण अधिकारीहरूले आगो पूर्ण रूपमा निभाइसकेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *