काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यवसाय गर्न नदिएको र धरपकड गरेको भन्दै कवाड व्यवसायी समाज, नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्। आज (सोमबार) कांग्रेस सर्लाही जिल्लाका कार्यवाहक सभापति डा. सरोज कुमारको नेतृत्वमा कवाड व्यवसायीहरूले देउवालाई ज्ञापनपत्र बुझाउँदै समस्याप्रति ध्यानाकर्षण गराएका छन्।
कवाड व्यवसायी समाजका अध्यक्ष रामकेवल गुप्ता, ओमप्रकाश सिंह, सुरेश साह, विजय गुप्ता, कृष्ण यादव लगायतका व्यवसायीहरू आज बिहान देउवा निवास बुढानिलकण्ठ पुगेका थिए। महानगरले कवाड व्यवसाय गर्दै आएका स्थानमा तोडफोड गरेको, समान जफत गरेको, व्यवसायीहरूसँग दुर्व्यवहार र कुटपिट गरेको, गालीगलौज गर्ने लगायतका घटनाहरूको विरोधमा उनीहरूले देउवालाई ध्यानाकर्षण गराए।
व्यवसायीहरूले कवाड व्यवसायीमाथि भइरहेको अराजक गतिविधिहरू रोक्न र जिउ तथा धनको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।




