मुख्य समाचार

अहिलेको आवश्यकता वृहत वामपन्थी एकताको छ : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वृहत वामपन्थी मोर्चा अहिलेको आवश्यकता भएको बताएका छन् ।

शनिवार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैलाई महसुस भएको खण्डमा अहिलेको आवश्यकता वृहत वामपन्थी एकताको भएको र महसुस नभएको खण्डमा ०८४ सालको निर्वाचनपछि थाहा हुने बताए ।

एकदेव आलेको सपना पूरा गर्ने भए नेपालका सबै कम्युनिष्टहरुले एकीकृत पार्टी निर्माण गरेर जानुपर्ने बताए । उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न र सही वैचारिक राजनीतिक कार्यदिशा आवश्यक भएको बताए । उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले कतिपयले समाजवादी मोर्चा भन्ने गरेको भएपनि अहिले समाजवादी मोर्चाको परिपक्व अवस्था नभएको बताए ।

उनले भने ‘हामीले अहिलेको अवस्थामा आन्दोलनलाई एकताबद्ध गर्ने हो भने सही वैचारिक राजनीतिक कार्यदिशामा आउनुपर्छ । सही वैचारिक कार्यदिशा अहिले नै पहिल्याउन सकिँदैन भने कमसेकम साझा आधार त छ । कमन ग्राउण्ड त छ । कमन ग्राउण्ड रूप दिएर एउटा वृहत वामपन्थी मोर्चा बनाउन जरुरी छ । अब कतिपय साथीहरू समाजवादी मोर्चा भन्नुहुन्छ । समाजवादी मोर्चाको अहिले त्यो परिपक्व अवस्था होइन । किनभने सबैले समाजवादी कार्यक्रम नै लिएका छैनन् । समाजवादी कार्यक्रम नै नलिएकाहरूले के समाजवादी मोर्चा बनाउने ?

नाम मात्रैको समाजवादी मोर्चा बनाउने हो भने जेजे गरे पनि हुन्छ । होइन, साँच्चै समाजवादी मोर्चा बनाउने हो भने त समाजवादी कार्यक्रम, नीति लिएकाहरूको बिचमा नै मोर्चा बनाउने होला नि । कति वटा समूह छन् त्यस्ता ? त्यसैले हामीले यतिबेला गर्ने भनेको व्यापक वामपन्थी मोर्चा नै हो । वामपन्थी मोर्चा आवश्यक छ अहिले । अहिले यतिबेला त दुई वटा पार्टीको अधिनायकत्व चलिरहेको छ ।’

पूर्वप्रधानमन्त्री खनालले नेपाली काँग्रेस नेपालको दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको बताए । उनले कम्युनिष्टहरुको मुख्य प्रतिद्वन्द्वी नेपाली काँग्रेस नै रहेको बताए । नेपालको कम्युनिष्ट आन्दोलन क्रमिक रूपले विभाजित भइरहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *