देश

झाँक्री प्रकाश भुजेल २ लाख धरौटीमा रिहा

काठमाडौं । उच्च अदालतको पाटनको आदेशमा पुर्पक्षमा जेल चलान भएका झाँक्री प्रकाश भुजेल २ लाख धरौटी तिरेर रिहा भएका छन् । बिहीबार उच्च अदालतको पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले २ लाख धरौटी तिरेर थुनामुक्त गर्न आदेशका थिए । त्यसपछि शुक्रबार झाँक्री दुई लाख धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमाकुमारी चन्दले नेपाल प्रेसलाई जानकारी दिईन ।

जिल्ला अदालत काठमाडौंले गत मंसिरमा काठमाडौँको ब्रम्हखेलमा दुर्घटना गराएका भुजेललाई थुनामा पठाउन आदेश दिएको थियो । गत कात्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो । दुर्घटनापछि झाँक्री पक्राउ परेका थिए ।

झाँक्रीले चलाएको बा.१९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । नगरकोटी दम्पतीको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

भुजेललाई पुर्पक्षमा जेल चलान गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश विरुद्ध उनका परिवारले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । पुनरावेदनमा उच्च अदालत पाटनले जिल्ला अदालतको आदेशलाई बदर गर्दै २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *