
सियोल। गत महिनाको अल्पकालीन मार्शल लको समयमा सांसदहरूलाई राष्ट्रिय सभाबाट बाहिर निकाल्न सेनाका सदस्यहरूलाई आदेश दिएका आरोप युन सुक–योलले अस्वीकार गरेका छन् ।
महाभियोग परीक्षणमा रहेका तथा भ्रष्टचारको आरोपमा पक्राउ परेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले संसद भवनमा सेना पठाउन आफुले आदेश नदिएको जिकिर गरेका हुन् ।
महाअभियोगका कारण निलम्बति ६४ वर्षीया राष्ट्रपति युनले मंगलबार सियोलको संवैधानिक अदालतमा आफू स्वतन्त्र लोकतन्त्रप्रति दृढ प्रतिबद्धताका साथ सार्वजनिक सेवामा काम गरिरहेको पनि बताए । सुनवाइ पछि त्यसपछि उनलाई सैन्य अस्पतालमा लगिएको छ ।
योनहाप समाचार एजेन्सीका अनुसार उनले आफ्नो राजनीतिक कदमको बचाउ गर्ने निकै कोसिस गरेका थिए । राष्ट्रपति युन गत हप्तादेखि थुनामा रहेका छन । गत डिसेम्बर ३ मा ‘मार्शल ल’ लागू गर्ने उनको प्रयासलाई संसदले तत्कालै केही घन्टामा अबरोध गरेको थियो र संसदको अबरोध पछि उनले मध्यरातमा आफूले घोषणा गरेको ‘मार्शल ल’ फिर्ता लिए पछि दक्षिण पूर्वी एसियाली मुलुक कोरियामा राजनीतिक संकट बढेको छ ।
युनले सुनुवाइमा भने, ‘डिसेम्बर ३ मा विधायिकामा पठाइएका विशेष बलका सैनिकहरू राष्ट्रिय सभालाई असक्षम पार्न वा आफ्नो मार्शल ललाई रोक्नको लागि त्यहाँ गएका थिएनन् किनभने मलाई थाहा थियो कि यस्तो कार्यले असुरक्षित संकट निम्त्याउनेछ ।’
उनले अगाडि यो पनि भने कि, ‘यस देशमा संसद र सञ्चारमाध्यम राष्ट्रपतिभन्दा धेरै शक्तिशाली छन्, उच्च पदमा छन्, जो मैले चाहेर पनि केही गर्न सक्दिन थिएँ, खासमा उनीहरू सुरक्षाका लागि संसदमा गएका थिए,’ उनले अदालतमा भने ।
यदि अदालतले यूनको विरुद्धमा फैसला गर्यो भने उनले राष्ट्रपति पद गुमाउनेछन् । र ६० दिन भित्र चुनाव गरिनु पर्ने त्यहाँको संवैधानिक प्रावधान छ । संवैधानिक अदालतले उनलाई दोषी ठहर गर्ने कि नगर्ने केही सातामा थाहा हुने कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।