देश

हमास र इजरायले सार्वजनिक गरे ३६ बन्धकको नाम, ९ महिनाको उमेरमा बन्दी बनाइएका कफिर बिबास छुट्दै

काठमाडौं । हमास र इजरायलबीच आइतबार युद्धविराम गर्ने दुई पक्षीय सम्झौता भएसँगै हमास र इजरायले बन्धक बनाइएकाहरुको नाम सार्वजनिक गरेका छन् । आइतबार हमासले बन्धक बनाइएका तीन बन्धकको नाम सार्वजनिक गरेको छ भने इजरायले ३३ जना बन्धकको नाम सार्वजनिक गरेको छ । हमासले गाजामा युद्धविराम सम्झौताको कार्यान्वयनको पहिलो दिन रिहा गरिने तीनै बन्दीहरू महिला रहेका छन् । हमासले टेलिग्राममा पोस्ट गरेअनुसार २४ वर्षीया रोमी गोनेन, एमिली दमारी र डोरोन स्टाइनब्रेचर रहेका छन् ।

२४ वर्षीया गोनेन सुपरनोभा फेस्टिवलबाट भाग्न खोज्दा हमलामा परेको थिइन् । २८ वर्षीया एमिली दमारी ब्रिटिश–इजरायली नागरिक हुन् । उनलाई किबुत्ज कफार अजा क्षेत्रमा बन्धक बनाइएको थियो । यसअघि रिहा भएका बन्धकहरूले कैदमा हुँदा उनको सम्पर्क भएको बताएका थिए। त्यस्तै ३१ वर्षीया डोरोन स्टाइनब्रेचर पशुचिकित्सक नर्स हुन् । किबुत्ज कफार अजामा आफ्नो अपार्टमेन्टमा हुँदा हमासले आक्रमण गर्दा बन्धक बनाइएकी थिइन् । तीनजना महिलाहरू युद्धविरामको सम्झौताको पहिलो चरणमा रिहा गरिने बताइएको छ ।

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले बन्दीहरूको नाम नदिएसम्म युद्धविराम सुरु नहुने चेतावनी दिएका थिए । युद्धविराम स्थानीय समयअनुसार बिहान ८ : ३० बजे सुरु हुने योजना थियो, तर इजरायली सेनाले गाजामा आक्रमण जारी राख्दै कम्तीमा १० जना प्यालेस्टिनीको हत्या गरेको छ।

यस्तै हमाससँगको युद्धविराम सम्झौता कार्यान्वयनका लागि इजरायलले पहिलो चरणमा रिहा गरिनु पर्ने ३३ जना बन्धकहरूको सूची सार्वजनिक गरेको छ । सो सूचीमा अक्टोबर ७ मा हमासले बन्धक बनाएका सबैभन्दा कान्छो र पाका बन्धक पनि समावेश छन् । कान्छा बन्धकमा ९ महिनाको उमेरमा बन्दी बनाइएका कफिर बिबास रहेका छन् । उनले कैदमै दोस्रो जन्मदिन मनाइसकेका छन् । त्यस्तै पाका बन्धकमा ८६ वर्षीय शलोमो मन्जुर रहेका छन् । उनलाई पनि पहिलो चरणमा रिहा गरिने अपेक्षा गरिएको छ। इजरायलले आफ्नो आधिकारीक एक्स एकाउन्टमा ३३ बन्धकहरूको नामसहितको तस्वीर सार्वजनिक गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *