देश

ललितपुरको मन्त्री निवास लगायतका ठाउँमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरु

काठमाडौं ।ललितपुर जिल्लाको भैसेपाटीस्थित संघीय सरकारका मन्त्री आवास लगायतका ठाउँमा शुद्ध अनि स्वच्छ खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरु भएको छ ।

संघीय सरकार खानेपानी मन्त्रालय अन्तर्गत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका बिभिन्न स्थानमा खानेपानी पुर्‍याउनका लागि वोलपत्र सहितको प्रक्रिया सुरु गरेको हो । यस अघि मन्त्री निवास भैसी पाटी लगायतका ठाउँमा खानेपानीको आपूर्ति भएको थिएन ।

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा पहिलो पटक काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका आठ स्थानमा खानेपानी आयोजना निर्माणका लागि बोलपत्र सहितको प्रक्रिया सुरु गरेको खानेपानी मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड द्वारा आह्वान गरिएको बोलपत्रमा ललितपुर महानगरपालिका–१८, सैन्बु भैसेपाटीमा रहेको मन्त्री निवास सहित ललितपुर महानगरपालिका–१८, मगरगाउँ, ललितपुर महानगरपालिका–१४, बुढामार्ग, ललितपुर महानगरपालिका–१५, युलेन्स स्कुल, धापाखेल, ललितपुर महानगरपालिका–१७, बाफल, ललितपुर महानगरपालिका–२६, चोखेल, ललितपुर महानगरपालिका–१५, शान्तिनगर माईक्रो पार्क, ललितपुर महानगरपालिका–८,९ बोजेपोखरी र बालकुमारी पुल गरि जम्मा आठ ठाउँको खानेपानि निर्माणका लागि बोलपत्र आह्वान गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

योजनाअन्तर्गत ती स्थानहरुमा खानेपानी निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी सर्वसाधारणलाई शुद्ध तथा दिगो खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको छ । परियोजनाले विशेषतस् शहरी र अर्ध–शहरी क्षेत्रमा खानेपानीको आपूर्ति सुधार गर्ने उद्देश्य राखेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले यस कार्यका लागि योग्य कम्पनीहरुलाई समयमै बोलपत्र पेस गर्न आग्रह गरिएको छ । यो पहलले ललितपुर जिल्लाका नागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *