
काठमाडौं । सहकारी ठगी प्रकरणका मुख्य नाइके जीबी राई (गितेन्द्रबाबु) राहदानी रद्ध गर्न अदालतले आदेश दिएको छ। सरकारले जिल्ला अदालत कास्कीमा दायर गरेको निवेदनका आधारमा शुक्रबार सुनुवाई गर्दै न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रद्ध गर्न आदेश दिएको हो।
गोर्खा मिडियाका संचालक समेत रहेका राईको राहदानी रद्ध गर्न अदालतले राहदानी विभागलाई चिठी पठाएको छ । ५ वटा सहकारी ठगीका मुख्य अभियुक्त जीबी राई लामो समयदेखि फरार रहेका छन् । उनलाई पक्राउ गर्न सरकारले बारम्बार प्रयास गरेपनि अहिलेसम्म फरार राई प्रहरीको नियन्त्रणमा पर्न सकेका छैन् । सर्वसाधारण नागरिकको अर्बौ रकम घोटला गरेर भागेका जीबिलाई नसमाति बचतकर्ताहरुको रकम फिर्ता हुन नसक्ने अनुमान गरिएको छ । जीविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दा विचाराधिन छ ।। विदेशमा रहेको भन्ने जानकारीका आधारमा राहदानी रद्द गरी लिन सकिन्छ भन्ने उद्देश्यले अदालतले राहदानी रद्द गर्न अनुमति दिएको अदालतले जनाएकाे छ ।
यसअघि नै प्रहरीले राहदानी रद्ध गर्नका लागि अदालतमा अनुमति माग गरेपनि अदालतले अनुमति दिन सकेको थिएन् । अदालतको अनुमति बिनै प्रहरीले राहदानी विभागमा रोक्का राखिदिन पत्राचार समेत गरेको थियो । तर विभागले प्रहरीले गरेको पत्राचारको वेवास्ता गर्दै राहदानी रोक्का गर्न अस्वीकार गरेको थियो ।
त्यसपछि सरकारका तर्फबाट जिल्ला अदालत कास्कीमा दायर निवेदनमा सुनुवाई गर्दै न्यायाधीश बेल्बासेको इजलासले यस्तो आदेश जारी गरेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । उनको राहदानी रद्द गर्न माग गर्दै पुस २८ गते अदालतमा निवेदन दर्ता भएको थियो। जीबि राई मलेसियामा रहेको संकापछि नेपाल प्रहरी समेत उनलाई पक्राउ गर्न मलेसिया पुगेको थियो । त्यहाँको सरकारले अनुमति नदिएपछि प्रहरी रित्तो हात नेपाल फर्केको थियो ।