
काठमाडौं । खोटाङ र उदयपुरको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदिमा अस्थाई बेलिब्रिज सञ्चालनमा आएको छ। खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटार जोड्ने आर्क डिजाइनको पक्की पुल गत असोज १२ गते आएको बाढीले बगाएपछि, पुनः निर्माण गरी पौष २७ गतेबाट बेलिब्रिज सञ्चालनमा आएको हो।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरको १ करोड २९ लाख ४६ हजार ७७ रुपैयाँमा आर्यन कन्ट्रक्सन मल्टिपर्पोज प्रालि उदयपुर कटारीले बेलिब्रिज जडान गरेको हो। प्रालिले जेठमा कोशीमा पानीको बहाव बढेपछि बेलिब्रिज खोलेर स्टोर गर्नेछ।
सुनकोशी नदिमा रहेको पहिलाकै ५० मिटरको बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याईएको हो। अस्थाई बेलिब्रिजको पुस २७ गते कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले रिवन काटेर उद्घाटन गरेका थिए ।
बाढीले पक्की पुल बगाएपछि खोटाङबाट सिधै छोटो दुरीमा तराई जाने यातायात सेवा सोही दिनदेखि संचालनमा आएको छ । अब पहाड र तराई जोड्ने सो बेलिब्रिज पुल निर्माण भएपछि नागरिहरुमा उत्साह बढेको छ । सो पुल बगाएपछि तराईबाट पहाडमा सामान ढुवानी गर्न उद्योग व्यावसायीहरुलाई समेत बाधा परेको थियो र सामानको मुल्यमा समेत वृद्धि भएको थियो । तर अब सबै कुरा सहज हुने नागरिकहरुले अपेक्षा लिएका छन् ।