विश्व

लेबनानी संसद्‌द्वारा सेना प्रमुखलाई राष्ट्रपतिमा निर्वाचित

लेबनानको संसद्ले सेना प्रमुख जोजेफ आओनलाई देशको नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको छ ।

एक सय २८ सदस्यीय संसद्मा भएको दोस्रो चरणको मतदानमा आओनले ९९ मत पाएका हुन् । पहिलो चरणको मतदानमा भने आओनले राष्ट्रपति पदमा निर्वाचित हुन आवश्यक पर्ने दुई तिहाइ अर्थात ८६ मत नपाएर जम्मा ७७ मत पाएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रपति पदमा निर्वाचित भएपछि बोल्दै आओनले इजरायली सेनाको आक्रमणका कारण ध्वस्त भएको देशको दक्षिणी र अन्य भूभाग पुनःनिर्माण गर्ने र थप इजरायली आक्रमण हुन बाट देशलाई जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लेबनानमा दुई वर्ष भन्दा बढी समय देखि राष्ट्रपति पद रिक्त थियो । ६० वर्षीय आओन देशको राष्ट्रपति पदमा निर्वाचित हुने लेबनानी सेनाको पाँचौं कमान्डर हुन् । अमेरिका समर्थित सेना प्रमुख राष्ट्रपति पदमा निर्वाचित हुनुलाई इजरायल सँगको विनाशकारी युद्धपछि लेबनानको इरान समर्थित हिजबुल्लाह समूहको प्रभाव कम भएको आंकलन गरिएको छ ।

सिरियामा राष्ट्रपति बसर अल असदको सत्ता पतन पनि हिजबुल्लाहको प्रभाव कम हुनुको कारण मानिएको समाचारमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *