कञ्चनपुर । डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित आलितालमा पहिलो पटक जलपन्छी गणना गरिएको छ ।
नेपाल पन्छी संरक्षण सङ्घ (वि.सि.एन.) का चराविज्ञ हिरुलाल डगौरा सहितको गणकहरुले डिभिजन वन कार्यालय डडेल्धुराको समन्वयमा ताल क्षेत्रमा जलपन्छी गणना गरेका हुन् ।
ताल क्षेत्रमा ४८ प्रजातिका जलपन्छी देखा परेको चराविज्ञ डगौराले बताए । उनका अनुसार तालमा मुख्यगरी ठूलो जलेवा, सानो जलेवा, डुबुल्की हाँस, खडखडे हाँस, विश्वमै दुर्लभ मालक हाँस लगायत चराहरु देखिएका छन् । ताल आसपासमा चराहरुको अध्ययन बाँकी रहेको उनले बताए ।
“पहिलो पटक ताल क्षेत्रमा जलपन्छी गणना गरेका छौँ,” डगौराले भने, “रैथाने र आगन्तुक जलपन्छी बारे अध्ययन शुरु गरेका छौँ ।” ताल क्षेत्रमा एक वर्ष सम्म अध्ययन र अवलोकनपश्चात् ताल क्षेत्रमा कुन प्रजातिका कति चराहरु रहेको भन्ने बारे जानकारी हुने उनले उल्लेख गरे। हाल ताल क्षेत्र र वरिपरिका चराको मात्रै अभिलेख राखिएको उनको भनाइ छ ।
आलिताल समुद्री सतह बाट आठ सय मिटर उचाइमा छ । यस तालको लम्बाइ एक हजार एक सय ७५ मिटर र चौडाइ करिब चार सय मिटर रहेको छ । यहाँ चरा संरक्षण गर्न गाउँपालिकाले एक जना हेरालुको व्यवस्था गरेको छ । चरा अवलोकन गर्न र तालको सौन्दर्य अवलोकन गर्न पर्यटक यहाँ आउने गरेका छन् ।
नेपाल पन्छी संरक्षण सङ्घ (वि.सि.एन.) का गणकहरुले कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित जाखोर ताल सँगै महादेवा तालमा पनि जलपन्छी गणना गरेका छन् । तालमा कैले टाउके हाँस, मालक हाँस, सिजुरी, सुनगजुरे लगायत चराका बथान देखिएको उनको भनाइ छ ।
घोडाघोडी नकरोडताल, रखौना, सोनियाँ रुपियाँ, घोरताल, पुरैना, जम्नेहटा, चम्रहिया, कोइलही ताल र कर्णाली जलाधार क्षेत्रमा जलपन्छी गणना गरिने बताइएको छ । अन्य ताल तलैया र नदीमा जलपन्छी गणना भइरहेको छ । कञ्चनपुरको पुरैनी तालमा ५५ प्रजातिका जलपन्छी भेटिएका छन् ।
उत्तरी धुव्र रुस, चीन, मङ्गोलिया लगायत अत्यधिक चिसो हुने क्षेत्रहरु बाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा यहाँका विभिन्न तालतलैया, नदी र वनजङ्गल क्षेत्रमा आउने गर्दछन् ।