विश्व

बंगलादेशकी नेतृ खालिदा जिया लन्डन जाँदै, कतारले पठायो एअर एम्बुलेन्स

ढाका। बंगलादेश नेशनल पार्टीकी अध्यक्ष खालिदा जिया मंगलबार राति १० बजे लन्डन प्रस्थान गर्ने भएकी छिन् ।

कतारका अमिर तमिम बिन हमाद अल थानीले उपलब्ध गराएको एअर एम्बुलेन्समार्फत उनी उपचारका लागि लन्डन प्रस्थान गर्न लागेकी हुन्। यसका लागि कतारले पठाएको एअर एम्बुलेन्स सोमबार साँझ ढाका आइसकेको छ ।

सोमबार गुलशनस्थित बीएनपी अध्यक्षको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बीएनपी स्थायी समिति सदस्य तथा खालिदा जियाका निजी चिकित्सक डा. ए जेड एम जाहिद हुसेनले यसबारे जानकारी दिएका हुन् ।

डा. जाहिद हुसेनका अनुसार लन्डन एयरपोर्टबाट खालिदा जियालाई सिधै अस्पताल लगिनेछ। प्रारम्भिक परामर्शपछि उनको उपचारका लागि आगामी चरणहरू तय गरिनेछ ।

उनले भने, “लन्डन पुगेपछि उनलाई बीएनपीका कार्यवाहक अध्यक्ष तथा उनका छोरा तारिक रहमान र बुहारी जुबैदा रहमानले स्वागत गर्नेछन्। उनीहरूले उनलाई लन्डनको पुरानो र प्रतिष्ठित स्वास्थ्य सेवा सुविधा सम्पन्न अस्पतालमा लैजानेछन्, जहाँ उनलाई भर्ना गरिनेछ। त्यहाँका डाक्टरहरूले उनको अर्को चरणको उपचारका लागि परीक्षण गर्नेछन् र सिफारिसहरू दिनेछन्।”

डा. जाहिद हुसेनले खालिदा जियाको यात्रामा मेडिकल बोर्डका ६ जना डाक्टर र अन्य अधिकारीहरू पनि साथमा रहने जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *