विश्व

नयाँ वर्षमा भएको हिंसात्मक घटनालाई लिएर ट्रम्पले गरे बाइडेनको आलोचना

अमेरिकामा नयाँ वर्ष मनाउँदै गर्दा भएका हिंसात्मक घटनालाई लिएर नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन् ।

हिंसात्मक घटनाले अमेरिका विश्वमा हास्य पात्र बनेको भन्दै ट्रम्पले यसको पछाडि सीमा नीति र कमजोर नेतृत्व रहेको बताएका हुन् । उनले सामाजिक सञ्जाल ’एक्स’ मा लेख्दै बाइडेन अमेरिकी इतिहासकै सबै भन्दा खराब राष्ट्रपति भएका आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाइडेनको खुला सीमा नीतिको सन्दर्भमा आफूले यस अघि पनि विरोध गर्दै आएको उल्लेख गर्दै ट्रम्पले खुला सीमा नीति र कमजोर नेतृत्वकै कारण अमेरिकामा कट्टरपन्थी इस्लामिक आतङ्कवाद र हिंसात्मक अपराध भएको बताएका छन् ।

नयाँ वर्षको रमाइलोका बेला लुइसियाना राज्यको न्यु अर्लिन्समा एक व्यक्तिले भीडमा ट्रक गुडाउँदा १५ जनाको ज्यान गएको थियो भने ३५ जना घाइते भएका थिए । यस्तै लस भेगासमा ट्रम्प इन्टरनेशनल होटल बाहिर साइबर ट्रक विस्फोट हुँदा एक जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *