
काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित होटेल वाग्मतीको ३०८ नम्बर कोठामा मृत भेटिएकी बौद्धकी सुस्मिता खड्कासँग जोरपाटीका २३ वर्षीय देवबहादुर थापा बसेको खुलेको छ ।
सुस्मिताको मृत्युपछि भने उनी भागेर ओखलढुंगा पुगेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीले थापाको खोजीका लागि एउटा टोली नै ओखलढुंगा पठाएको छ । ‘‘सुस्मिताको मृत्यु भएपछि थापाले बाहिरबाट चाबी लगाएर भागेको देखिएको छ । तर, युवतीको बाहिरी चोट नदेखिकाले मृत्यु कसरी भएको खुलेको छैन ।’’ प्रहरी स्राेतले भन्याे ।
सुस्मिताको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । पोस्टमार्टम रिपोर्टपछि थप खुल्ने प्रहरीको अपेक्षा छ ।
२२ वर्षीया खड्काको शव बुधबार फेला परेको थियो । थापा र सुस्मिता पुस १६ गते (मंगलबार) कोठामा बस्न पुगेको खुलेको छ । फरार रहेका थापा मंसिर ३० गतेमात्रै जापानबाट काठमाडौं आएका थिए । उनी आज (बिहीबार) फर्किने तयारीमा थिए ।
प्रहरीले थापाको ट्राभल रोक्का राख्न अध्यागमन कार्यालयलाई पत्राचार गरिसकेको छ ।
प्रहरीका अनुसार, सुस्मितासमेत जापान जाने तयारीमा थिइन् ।