किभ। रुसको सरकारी स्वामित्वमा रहेको कम्पनी ग्याजप्रोम र युक्रेनबीच पाइपलाइनमार्फत युरोपेली मुलुकहरूमा ग्यास पठाउने सम्झौता अहिले रद्द गरिएको छ।
योसँगै रुस र युक्रेनबीचको अन्तिम बाँकी रहेको व्यापार तथा राजनीतिक सम्झौता पनि समाप्त भएको छ।
सम्झौता भङ्ग भएपछि अहिले युरोपका धेरै देशहरूमा रुसी प्राकृतिक ग्यासको निर्यात रोकिएको छ। रुसी कम्पनी ग्याजप्रोमले ट्रान्जिट सम्झौता अन्तर्गत युद्धका बेला पनि स्लोभाकिया, मोल्डोभा, र हंगेरीलगायतका धेरै देशमा प्राकृतिक ग्यास पठाउँदै आएको थियो।
युक्रेनका ऊर्जा मन्त्री जर्मन गालुसेन्कोले एक विज्ञप्तिमा भनेका छन्, “हामीले रुसी ग्यासको पारवहन रोकेका छौं। यो ऐतिहासिक घटना हो। रुसले आफ्नो बजार गुमाउँदैछ, जसले आर्थिक नोक्सान बेहोर्नेछ।”
युरोपेली देशहरूमा ग्यास पठाउने पारवहन सम्झौता २०१९ मा सुरु भएको थियो, जुन ३१ डिसेम्बर २०२४ मा समाप्त हुनेवाला थियो। युक्रेनले यो सम्झौता नवीकरण गर्न अस्वीकार गरेपछि युरोपमा रुसी ग्यास निर्यात अवरुद्ध भएको छ।
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले केही सातादेखि युक्रेनलाई पारवहन सम्झौता रद्द नगर्न आग्रह गरिरहेका थिए। युक्रेनले सम्झौता नवीकरण नगरिदिएपछि उनीहरूको प्रयास असफल भएको छ। यी दुवै युरोपेली नेताहरू पुटिनका समर्थक मानिन्छन्।
ग्यास नपाउने डरले रोबर्ट फिको गत हप्ता पुटिनलाई भेट्न मस्को पुगेका थिए। उनले युक्रेनले पारवहन सम्झौता नवीकरण नगरे स्लोभाकियाले युक्रेनलाई विद्युत् आपूर्ति बन्द गर्ने बताएका थिए। तर, यस धम्कीप्रति युक्रेनले आफूहरू यसबाट चिन्तित नभएको जनाएको थियो।
युक्रेनका ऊर्जा मन्त्री गालुसेन्कोले भने कि यदि स्लोभाकियाले त्यसो गरे, युक्रेनले रोमानिया र पोल्याण्डबाट बिजुली आयात गरेर क्षतिपूर्ति दिने तयारी गरिरहेको छ।
उता, मोल्डोभाको अवस्था सबैभन्दा गम्भीर छ। यो युक्रेनसँगको सिमानाबाट काटिएको छ र रुस समर्थित पृथकतावादीहरूसँग लडिरहेको छ। ट्रान्जिट सम्झौता रद्द हुने डरका कारण डिसेम्बरको सुरुमा मोल्डोभामा ६० दिने आपतकाल लगाइएको थियो।
मोल्डोभाजस्तै स्लोभाकिया र हंगेरीले त्यति धेरै समस्याहरूको सामना गर्दैनन्, किनभने यी देशहरूले अझै पनि ब्ल्याक सीमार्फत बिछ्याइएको टर्कस्ट्रीम पाइपलाइनबाट रुसी ग्यास खरिद गरिरहेका छन् ।
रुसी ग्यास आपूर्ति ६० वर्षपछि बन्द भएको हो। रूसले युक्रेनमार्फत हजारौं किलोमिटर लामो भूमिगत पाइपलाइनहरू बिछ्याएको थियो। यी पाइपहरू सोभियत युगमा निर्माण गरिएको थियो। करिब ६० वर्षदेखि यी पाइपहरूको माध्यमबाट प्रत्येक वर्ष करिब १५० अर्ब घनमिटर रुसी प्राकृतिक ग्यास पश्चिम युरोपमा पठाइने गरिन्थ्यो ।
रुस–युक्रेन युद्ध सुरु भएपछि युरोपेली संघका देशहरूले रुसी जीवाश्म इन्धनमाथिको निर्भरता घटाएका छन्। यही क्रममा रूसले यी पाइपलाइनमार्फत ४० बीसीएम ग्यास आपूर्ति घटाएको थियो। २०२३ मा यो आपूर्ति झन्डै १५ बीसीएममा झरेको थियो, जुन अहिले शून्यमा पुगेको छ।




