विश्व

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

सन् १९९० को दशकको शुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकार मध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन पछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ ।

सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका सिंहको बिहीबार साँझ नयाँ दिल्लीको अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

“दिवङ्गत महानुभाव प्रति सम्मान स्वरूप सम्पूर्ण भारतमा सात दिनको राजकीय शोक मनाइने निर्णय गरिएको छ”, भारत सरकारले शुक्रबार एक विज्ञप्तिमा भनेको छ । शोक जनवरी १ सम्म मनाइनेछ ।

“स्वर्गीय डा. मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय पनि गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

अस्ट्रेलिया सँग चौथो टेस्ट खेलिरहेको भारतीय क्रिकेट टोलीले शुक्रबार सिंह प्रति सम्मान प्रकट गर्न कालो हातको ब्यान्ड लिएर शुक्रबार मैदानमा पुगेको थियो । राजकीय अन्त्येष्टिको मिति तत्काल घोषणा नगरिए पनि कांग्रेस पार्टीका एक वरिष्ठ सदस्यले शनिबार हुनसक्ने सङ्केत गरेका छन् ।

सरल टेक्नोक्र्याट

पूर्वप्रधानमन्त्री एक सरल टेक्नोक्र्याट थिए । उनलाई पहिलो कार्यकालमा एसियाको चौथो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिको नेतृत्व गरेकामा प्रशंसा गरिएको थियो तर, उनको दोस्रो कार्यकाल ठूला भ्रष्टाचार काण्ड, मन्द विकास र उच्च मुद्रास्फीतिका साथ समाप्त भयो ।

दोस्रो कार्यकालमा सिंहको अलोकप्रियता र तल्लो सदनमा हालका विपक्षी नेता नेहरू–गान्धी वंशज राहुल गान्धीको कमजोर नेतृत्वले सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो भारी जीतमा योगदान गर्यो ।

सन् १९३२ मा अहिले पाकिस्तानमा रहेको गाह गाउँको माटोको घरमा जन्मिएका सिंहले विशाल राष्ट्रमा गरिबी उन्मूलन गर्ने तरिका खोज्न अर्थशास्त्रको अध्ययन गरे । राष्ट्रको सर्वोच्च पद लिनु अघि उनी कहिल्यै निर्वाचित पदमा बसेका थिएनन् ।

उनले केम्ब्रिज बाट अर्थशास्त्रमा प्रथम श्रेणी र अक्सफोर्ड बाट विद्यावारिधि हासिल गर्न छात्रवृत्ति पाएका थिए । सिंहले वरिष्ठ निजामति सेवाका विभिन्न पदमा काम गरे, केन्द्रीय बैंङ्कको गभर्नरको रूपमा सेवा गरे र संयुक्त राष्ट्रसङ्घ जस्ता विश्वव्यापी एजेन्सीहरूमा विभिन्न पद सम्हाले ।

सन् १९९१ मा तत्कालीन कांग्रेसी प्रधानमन्त्री पी.भी. नरसिंह रावले उनलाई भारतको आधुनिक इतिहासको सबै भन्दा खराब वित्तीय सङ्कटबाट देशलाई उकास्न जिम्मेवारी दिएका थिए । आफ्नो पहिलो कार्यकालमा सिंहले नौ प्रतिशतको आर्थिक वृद्धिको अवधिमा अर्थतन्त्रको नेतृत्व गरे। यसले देशलाई लामो समय देखि खोजिरहेको अन्तर्राष्ट्रिय प्रभाव दियो ।

उनले अमेरिका सँग एउटा ऐतिहासिक आणविक सम्झौतामा पनि हस्ताक्षर गरेका थिए । उनले उक्त सम्झौताले भारतलाई आफ्नो बढ्दो ऊर्जा आवश्यकताहरू पूरा गर्न मद्दत गर्ने बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *