देश

वैदेशिक रोजगारीमा म्यानमार गएका १४ जना नेपाली अलपत्र

काठमाडौं । म्यानमारमा १४ जना नेपाली अलपत्र परेका छन् । आन्तरिक द्वन्द्वका कारण नेपालीहरु अलपत्र अवस्थामा परेको बर्मास्थित नेपाली दूतावासले जनाएको छ । दुतावासले दिएको जानकारी अनुसार सीमा क्षेत्रमा पर्ने म्यावडी भन्ने ठाउँमा उनीहरु फसेका छन् भने उद्दारका उद्धारका लागि आग्रह समेत गरिएको छ ।

बर्माका लागि नेपालका राजदूत हरिशचन्द्र घिमिरेले उनीहरू रहेको स्थान स्थानीय जातीय समूहको कब्जामा रहेको क्षेत्रमा छन् । केही समयअघि त्यस क्षेत्रमा तैनाथ म्यानमारको सेनाले स्थानीय विद्रोहीसँग आत्मसमर्पण गरेको थियो । राजदूत घिमिरेका अनुसार उक्त क्षेत्रमा नेपालसहित अरु ३६ देशका नागरिक अलपत्र परेकाले उद्दारका लागि अरु देशसँग पनि समन्वय भइरहेको छ ।

औपचारिक रुपमा जातीय समूहलाई पत्राचार गर्नसक्ने स्थिति नभएकाले अन्य गैरसरकारी संस्थाहरूको समेत सहयोग लिनुपर्ने स्थिति रहेको उनको भनाए छ । केही दिनअघि मात्रै पाँच जना नेपालीलाई उद्दार गरेर स्वदेश फिर्ता गराइएको छ ।

पछिल्लो दुई वर्षमा बर्मामा अलपत्र परेका कम्तिमा ९० जनालाई उद्दार गरेर नेपाल फर्काइसकिएको घिमिरेले बताए ।अझै नेपाली आइरहेकाले म्यानमार आउनुअघि सचेत रहन समेत दुतावासले आग्रह गर्दै आएको छ । दुतावासका अनुसार अलपत्र परेका मध्ये अधिकांश भिजिट भिसामा थाइल्याण्ड पुगेर स्थलमार्गबाट म्यानमार गएका छन् । कतिपय विजनेश भिसामा सिधै म्यानमार गएको समेत देखिएको छ । परराष्ट मन्त्रालयका उपसचिव सुभांग पराजुलीले नेपाली नागरिकहरू आईटी कम्पनीमा आकर्षक जागीर पाउने प्रलोभनमा बर्मा पुगेको प्रारम्भिक विवरण भएको जानकारी दिए ।

‘प्रायः नेपाली नागरिकलाई क्रिप्टोकरेन्सी कारोबार, साइबर ठगी, अनलाइन स्क्यामिङ लगायतमा काम लगाइएको देखिन्छ, कतिपय अञ्जानमै यस्तो गिरोहको फन्दामा परेको उनको भनाइ छ । ‘कतिपयले त्यहाँ पुगेपछि राहदानी नियन्त्रणमा लिएर १२, १३ घन्टासम्म काममा लगाएको पाइएको समेत उनले बताए । त्यसैले नेपालीहरुले विदेश जानुपूर्व आफुलाई चाहिने सिप क्षमता र ज्ञानमा अपडेड राख्नुपर्ने आवश्यकता देखिएको छ । विदेश जाँदा प्राय नेपालीहरुले त्यहाँको धर्म संस्कृति , चालचलन र देशको समाजिक आर्थिक अवस्थाका साथै सुशासनलाई समेत ध्यानमा राख्न जरुरी रहेको छ । बर्मामा नेपाली नागरिक अलपत्र परेको खबरहरू आउन थालेपछि सोमबार परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरेको थियो ।

वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पु¥याइ अलपत्र पार्ने एवं प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरूमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरू नगर्न÷नगराउन पनि मन्त्रालयले निर्देशन दिइसकेको छ ।

हालका दिनहरुमा मानव बेचविखन एवं अन्य अपराधिक गतिविधिहरूमा संलग्न गिरोहले नेपाली नागरिकहरूलाई कम्बोडिया, लाओस र म्यानमारमा लगेर जबरजस्ती अवैध कार्यहरुमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिने लगायतका समस्याहरु देखिन थालेको मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *