चितवन । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास, निर्माण सम्बन्धी काम प्राथमिकताका आधारमा अघि बढ्ने बताएका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारहरू सँग आज(शनिबार) कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले विधि र आवश्यक प्रक्रिया अनुसार प्राथमिकताका आधारमा विकास, निर्माण सम्बन्धी काम अघि बढाइने उल्लेख गरे । उनले भने, “योजनाबिना काम थाल्नु भन्दा आवश्यकता र प्राथमिकताका आधारमा निष्कर्षमा पुर्याउने गरी निर्माण अघि बढाउने छौँ ।”
कुनै पनि निर्माण सम्बन्धी काम एक महिना वा छोटो अवधिमा सम्पन्न नभई योजनाबद्ध रूपमा गर्न जरुरी रहेकामा सहरी विकासमन्त्री सिंहले जोड दिए । पूर्वाधार निर्माणका लागि योजना सहित संरचना बनाउन समय लाग्ने भन्दै उनले बनेका विशेष संरचनाहरू सञ्चालन प्रक्रियामा अघि बढाइएको बताए ।
उपप्रधान मन्त्री सिंह सँगै चितवन पुगेका गृह मन्त्री रमेश लेखकले भरतपुर विमानस्थलमा प्रमुख प्रतिपक्षी दल जिम्मेवार रूपमा प्रस्तुत भई संविधान, देश र जनताकेन्द्रित कामका लागि सरकार र सरोकार भएका सँग आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने बताए ।
मुलुकमा कानूनी राज्य स्थापना गर्दै विधिको शासन कायम गर्न सरकार लागिपरेको बताउँदै उनले सरकारको यो काममा प्रतिपक्षी दलले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे।