सम-सामयिक

दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन रिहा

दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन रिहा भएका छन् । 

शनिबार बिहान हैदराबादको चञ्चलगुडा केन्द्रीय कारागार बाट उनी रिहा भएका हुन् । ‘पुष्पा–२’ को प्रिमियरका क्रममा भागदौड हुँदा महिलाको मृत्यु भएको घटनामा पक्राउ परेका अभिनेता अल्लुलाई तेलंगाना उच्च अदालतले जमानत (धरौटीमा रिहाको आदेश) दिएको हो । यसअघि हैदराबाद अदालतले उनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको थियो ।

भारतको एक सिनेमा घरमा हालै प्रदर्शनमा आएको उनको फिल्म पुष्पा–२ को प्रदर्शनका क्रममा मच्चिएको भागदौडमा एक महिलाको मृत्यु भएको थियो । उक्त प्रकरणमा अल्लू विरुद्ध प्रहरीका उजुरी दर्ता भएको थियो । 

डिसेम्बर ४ मा पुष्पा–२ को रिलिज पूर्व हैदराबादको सन्ध्या सिनेमा घरमा फिल्मको स्क्रिनिङ राखिएको थियो । फिल्म हेर्नका लागि दर्शकले पहिले नै टिकट काटेर हलमा पुगेका थिए ।

अल्लू सहित फिल्मको टिम उक्त हलमा अचानक पुगेपछि त्यहाँ भागदौड मच्चिएको थियो । भागदौडका क्रममा एक महिलाको मृत्यु भएपछि अल्लू सहित अन्य केही व्यक्ति विरुद्ध पनि प्रहरीमा उजुरी परेको थियो ।

भागदौडमा एम रेवाथी नाम गरेकी महिलाको मृत्यु भएको थियो । अल्लु करिब १८ घण्टा हिरासतमा रहेका थिए । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *